काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाही गरी उनीहरूको अवैध सम्पत्ति जफत गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै शाहीले सरकारबाट कसलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने विषयभन्दा भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगारी सिर्जनालाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
उनले अपराधमा संलग्न व्यक्तिलाई राजनीतिक दल, समूह वा व्यक्तिगत सम्बन्धका आधारमा छुट दिन नहुनेमा जोड दिएका छन् । भ्रष्टाचारीलाई जेल हाल्ने र उनीहरूले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्ने काममा सरकारले दृढता देखाउनुपर्ने उनको भनाइ छ ।
‘कसलाई निकाल्नुपर्छ निकाल्नुस्, कसलाई राख्नुपर्छ राख्नुस् । तर भ्रष्टाचारीहरूलाई जेल हाल्नुपर्यो । उनीहरूको अवैध सम्पत्ति जफत गर्नुपर्यो । देशमा रोजगारी सिर्जना गर्नुपर्यो,’ शाहीले लेखेका छन् ।
उनले अपराध गर्ने व्यक्ति आफ्नै दल, समूह वा निकट सम्बन्धको भए पनि कारबाहीबाट उन्मुक्ति दिन नहुने बताएका छन् ।
त्यस्तै, आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकारले ठोस योजना र काम अघि बढाउनुपर्ने उनको माग छ ।
‘अबको पाँच वर्षपछि कुनै पनि नेपाली युवा विदेशमा गएर पसिना बगाउन नपरोस्, अर्काको देशमा श्रम गर्न बाध्य हुन नपरोस् । प्रधानमन्त्रीज्यू, जनताको अपेक्षा यत्ति हो,’ उनले भनेका छन् ।
शाहीले सरकारको प्राथमिकता सत्ता व्यवस्थापनमा भन्दा भ्रष्टाचार नियन्त्रण, अपराधीमाथिको कारबाही र स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न केन्द्रित हुनुपर्ने सन्देश दिएका छन् ।
प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार













प्रतिक्रिया