काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनवासीको साथ, विश्वास र समर्थनकै कारण पार्टीले राष्ट्रिय राजनीतिमा उल्लेखनीय सफलता हासिल गरेको बताएका छन् ।

चितवनमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै लामिछानेले चितवनबाट सुरु भएको राजनीतिक यात्राले रास्वपालाई देशकै ठूलो पार्टीका रूपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको बताए । कठिन परिस्थितिमा समेत जिल्लावासीले आफूलाई साथ दिएको उल्लेख गर्दै उनले चितवनप्रति आभार व्यक्त गरे ।

‘कसलाई थाहा थियो र चितवनबाट सुरु भएको यो क्रान्तिले आज यति ठूलो मत प्राप्त गर्नेछ र रास्वपा देशकै सबैभन्दा ठूलो पार्टी बन्नेछ भन्ने कुरा ? चितवनलाई थाहा थियो । त्यसैले त चितवनले हरेक कठिन परिस्थितिमा मलाई साथ दियो,’ उनले भने ।

लामिछानेले आफू राजनीतिमा प्रवेश गरी चितवनबाट निर्वाचन लड्ने निर्णय गर्दा जिल्लाका धेरै नागरिक अन्य राजनीतिक दलमा आबद्ध रहेको स्मरण गरे । पुराना दलको लामो राजनीतिक इतिहास, विरासत, त्याग र बलिदान हुँदाहुँदै पनि आफू र रास्वपामाथि विश्वास गरेर धेरैले पुरानो राजनीतिक आबद्धता त्यागेको उनले बताए ।

‘तपाईंहरूको आफ्नै दल थियो, त्यसको राजनीतिक इतिहास थियो । त्यससँग सम्बन्धित नेताहरूको राजनीतिक विरासत, त्याग, बलिदान र राजनीतिक समर्पण थियो । ती सबै हुँदाहुँदै पनि मलाई र हामीलाई विश्वास गरेर आफ्नो भइरहेको घर छाडेर रास्वपामा आउनुभयो,’ उनले भने ।

पुराना दलमा लामो समयदेखि सक्रिय रहेका नेता–कार्यकर्तादेखि पहिलोपटक राजनीतिमा प्रवेश गरेका नागरिकसम्मले रास्वपालाई आफ्नो राजनीतिक विकल्पका रूपमा रोजेको भन्दै लामिछानेले सबैप्रति कृतज्ञता व्यक्त गरे ।

उनले चितवनमा आफूले सत्य र तथ्यलाई स्पष्ट रूपमा प्रस्तुत गर्ने पनि बताए । घुमाउरो अभिव्यक्ति दिनुभन्दा विषयवस्तुलाई जस्ताको तस्तै राख्ने र निडर भएर बोल्ने राजनीतिक संस्कारले नै पार्टीलाई वर्तमान अवस्थामा पुर्‍याएको उनको भनाइ थियो ।

‘चितवनबाट मैले भन्नुपर्ने कुरा मुख चपाएर, जिब्रो चपाएर उल्टोको सुल्टो र सुल्टोको उल्टो भने त्यो सही हुँदैन । यहाँ सही र सत्य बोलेर, निडर र निर्भीक भएर जस्ताको तस्तै बताएर नै पार्टीले यो उचाइ हासिल गरेको हो,’ लामिछानेले भने ।

प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com