काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नै पार्टी नेतृत्वको सरकारका कामकारबाहीमा पनि निरन्तर प्रश्न उठाउने र आवश्यक खबरदारी गर्ने बताएका छन् ।
शुक्रबार एक कार्यक्रममा बोल्दै लामिछानेले पार्टीले सरकारलाई सचेत गराउँदा त्यसलाई विवाद, विद्रोह वा आन्तरिक मतभेदका रूपमा व्याख्या गर्न आवश्यक नरहेको स्पष्ट पारे । सरकारलाई सही बाटोमा अघि बढाउन पार्टीले खबरदारी गर्नु लोकतान्त्रिक प्रतिबद्धता भएको उनको भनाइ छ ।
‘पार्टीले सरकारलाई कहिलेकाहीँ घच्घच्याउँदा लौ बर्बाद भयो भन्ने खालका कुरा गरेर केही गर्न जरुरी छैन,’ उनले भने, ‘हामी डराएर होइन, आफ्नो प्रतिबद्धताअनुसार बोलिरहन्छौँ । रास्वपाले भनिरहन्छ, रविले कराएर भनिरहन्छ ।’
लामिछानेले लोकतन्त्र, स्वतन्त्र प्रेस र मानव अधिकार कसैको लोकप्रियता वा नाराका भरमा प्राप्त नभएको स्मरण गराए । यी उपलब्धिका लागि धेरैले ज्यान गुमाएको, रगत बगाएको र अंगभंग हुनुपरेको उल्लेख गर्दै उनले उनीहरूको बलिदानको अवमूल्यन हुन नदिने बताए ।
‘घन्टी बजाउँदै हिँड्दै रवि दाइ हाई–हाई भन्दै लोकतन्त्र प्राप्त भएको होइन । यसका लागि मानिस मरेका छन्, रगत बगाएका छन् । त्यसको मूल्य ठूलो छ,’ उनले भने ।
लोकतन्त्रभन्दा ठूलो आफ्नो लागि अरू केही नभएको बताउँदै लामिछानेले सरकार सञ्चालनमा परिणामसँगै प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्नेमा जोड दिए । रास्वपा विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले कानुनी प्रक्रिया र लोकतान्त्रिक मूल्य–मान्यताको पालना अनिवार्य रहेको उनले बताए ।
सरकार र पार्टीका गतिविधिलाई नागरिक समाज, अन्य राजनीतिक दल तथा अन्तर्राष्ट्रिय समुदायले समेत नजिकबाट नियालिरहेको उल्लेख गर्दै उनले अपरिपक्व व्यवहारले रास्वपाले सरकार सञ्चालन गर्न नसक्ने सन्देश जान सक्नेप्रति सचेत गराए ।
उनले पार्टीभित्र सरकारका कामकारबाहीबारे प्रश्न उठ्नुलाई फुट, विग्रह वा विद्रोहको संकेतका रूपमा नबुझ्न पनि आग्रह गरे । बरु यसलाई सरकारलाई जिम्मेवार बनाउने र पार्टीको प्रतिबद्धता कार्यान्वयन गर्ने प्रयासका रूपमा लिनुपर्ने उनको भनाइ छ ।
आफूहरू सरकारको विरोधमा नउत्रिएको स्पष्ट पार्दै लामिछानेले प्रतिपक्षी दलहरूले रास्वपाभित्रका प्रश्नलाई लिएर खुसी हुन आवश्यक नरहेको टिप्पणी गरे । सरकारबाट जनताले गरेको अपेक्षा बुझेर त्यसअनुसार काम गर्नु अहिलेको मुख्य आवश्यकता भएको उनले बताए ।
सरकारलाई खबरदारी गर्ने विषयमा आफू र पार्टी पछि नहट्ने दोहोर्याउँदै लामिछानेले जनताको अपेक्षाअनुसार काम गर्न सरकारलाई सचेत गराएका छन् ।
प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार













प्रतिक्रिया