काठमाडौं । नेपालको विद्युत् व्यापारलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने उद्देश्यसहित एभरेस्ट इनर्जी एक्सचेन्ज प्रालि र सिंगापुरस्थित म्रिया ग्लोबल लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

एभरेस्ट इनर्जी एक्सचेन्जका अध्यक्ष उमेश कासाजूको नेतृत्वमा सिंगापुरमा म्रिया ग्लोबल लिमिटेडका अधिकारीहरूसँग भएको छलफलले मूर्तरूप लिँदै सन् २०२६ नोभेम्बर ४ (२०८३ कात्तिक १८) मा काठमाडौंमा दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

नेपालको ऊर्जा व्यापारलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने सम्भावनाको खोजीका लागि यो सहकार्य अघि बढाइएको जनाइएको छ। विशेषगरी नेपालसहित भारत, भुटान र बंगलादेशका विद्युत् बजारमा सम्भावित व्यावसायिक अवसर पहिचान गर्ने तथा सीमापार विद्युत् व्यापारको सम्भाव्यता अध्ययन गर्ने विषयलाई सहकार्यको प्राथमिकतामा राखिएको छ।

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रका कम्पनीहरूलाई स्वदेशी तथा अन्तर्राष्ट्रिय विद्युत् बजारको खोजी गर्न प्रारम्भिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो। उक्त निर्णयले निजी क्षेत्रलाई सम्भावित विद्युत् खरिदकर्ता तथा व्यावसायिक साझेदार पहिचान गर्ने, प्राविधिक र वित्तीय सम्भाव्यता अध्ययन गर्ने तथा क्षेत्रीय बजारमा विद्युतको माग र मूल्य निर्धारणको अवस्था विश्लेषण गर्ने बाटो खुला गरेको छ।

मन्त्रालयको यही नीतिगत पहल र स्वीकृतिको पृष्ठभूमिमा एभरेस्ट इनर्जी एक्सचेन्ज र म्रिया ग्लोबलबीच सहकार्य अघि बढेको हो।

समझदारीअनुसार लक्षित बजारमा विद्युत्को माग, मूल्य संरचना, सम्भावित खरिदकर्ता, व्यावसायिक साझेदारी तथा विद्युत् व्यापारका अवसरहरूको अध्ययन र पहिचानमा सहकार्य गरिने अपेक्षा गरिएको छ।

नेपालमा जलविद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएको अवस्थामा उत्पादित विद्युत्का लागि दीर्घकालीन तथा विविध अन्तर्राष्ट्रिय बजार पहिचान गर्नु महत्वपूर्ण बन्दै गएको छ। यस्तो अवस्थामा निजी क्षेत्रको सक्रिय सहभागिता, अन्तर्राष्ट्रिय साझेदारी र बजारमुखी अध्ययनले नेपालको विद्युत् व्यापारलाई थप व्यवस्थित तथा प्रतिस्पर्धी बनाउन सहयोग पुर्‍याउन सक्ने देखिन्छ।

प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com