जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सत्ता समीकरणको तयारी भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारबाट बाहिरिएको छ । नेकपाका तर्फबाट सरकारमा सहभागी चारै जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग, पर्यटन तथा वनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो रहेका छन् ।
मुख्यमन्त्री कृष्णप्रसाद यादव काठमाडौंमा रहेकाले चारै मन्त्रीले ह्वाट्सएपमार्फत राजीनामापत्र पठाएको एक मन्त्रीले जानकारी दिएका छन् ।
मन्त्रीहरूले राजनीतिक निकासका लागि सामूहिक रूपमा पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् । उनीहरूले मुख्यमन्त्रीलाई सम्बोधन गर्दै आफूहरूलाई सरकारमा रहँदा सहयोग गरेकोमा धन्यवादसमेत दिएका छन् ।
राजीनामासँगै नेकपाले मधेश प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । पार्टीले प्रदेश प्रमुखसमक्ष समर्थन फिर्ता लिएको औपचारिक पत्रसमेत दर्ता गराएको छ ।
नेकपा सरकारबाट बाहिरिएसँगै मधेश प्रदेशको सत्ता समीकरणमा नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको छ ।
प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार













प्रतिक्रिया