काठमाडौं । सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएपछि उनको २५औँ सत्याग्रह अन्त्य भएको छ। शनिबार राति सरकारसँग सहमति जुटेसँगै डा. केसीले त्रिवि शिक्षण अस्पतालमा जारी अनशन तोडेका हुन्।

लामो समयदेखि जारी छलफल र वार्तापछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शनिबार राति नै त्रिवि शिक्षण अस्पताल पुगेका थिए। मन्त्री पोखरेल र डा. केसीबीच सहमति भएपछि उनको सत्याग्रह अन्त्य गरिएको हो।

अनशन तोडिएपछि मन्त्री पोखरेलले यो नै डा. केसीको अन्तिम सत्याग्रह हुने दाबी गरेका छन्। सहमतिमा उल्लेखित विषय कार्यान्वयनका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउँदै उनले अब डा. केसीले पुनः अनशन बस्नुपर्ने अवस्था नआउने विश्वास व्यक्त गरे।

‘यो डा. केसीको अन्तिम अनशन हो। उहाँसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छ,’ मन्त्री पोखरेलले भने।

सरकार र डा. केसीबीच भएको सहमतिपत्रमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन्।

६ बुँदे सहमतिसँगै लामो समयदेखि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका माग राख्दै सत्याग्रह गर्दै आएका डा. केसीको यसपटकको आन्दोलन टुंगिएको छ।

प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com