सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पार्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सुर्खेत रङ्गशालाको अनुगमन गरेकी छन्।

प्रतियोगिताको तयारी, पूर्वाधार निर्माण तथा व्यवस्थापकीय अवस्थाबारे जानकारी लिन मन्त्री बादी रङ्गशाला पुगेकी हुन्। अनुगमनका क्रममा उनले खेलमैदान, प्यारापिटलगायत निर्माणाधीन पूर्वाधारको प्रगति र प्रतियोगिता सञ्चालनका लागि भइरहेको तयारीबारे सम्बन्धित अधिकारीसँग जानकारी लिएकी थिइन्।

उनले प्रतियोगितामा सहभागी हुने खेलाडीको आवास, खेलस्थलको व्यवस्थापन तथा आवश्यक सेवा-सुविधाको उपलब्धताबारे समेत चासो व्यक्त गरिन्। प्रतियोगितालाई व्यवस्थित, भव्य र सफल बनाउन सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ थियो।

मन्त्री बादीले तोकिएको समयभित्र सम्पूर्ण तयारी पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै प्रतियोगिताको सफल आयोजनाका लागि आवश्यक समन्वय र व्यवस्थापनमा जोड दिएकी छन्।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रियस्तरको ठूलो खेलकुद महोत्सव हो। यसले नयाँ खेल प्रतिभाको पहिचानसँगै नेपाली खेलकुदको विकास, राष्ट्रिय एकता र खेल पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतियोगितामार्फत कर्णालीको खेल पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन र राष्ट्रियस्तरमा प्रदेशको पहिचान स्थापित हुने विश्वास व्यक्त गर्दै मन्त्री बादीले प्रतियोगितालाई कर्णालीवासीले गौरवको अवसरका रूपमा लिनुपर्ने बताएकी छन्।

प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com