काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले काग तिहार तथा धन्वन्तरी जयन्तीको अवसरमा नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।
यमपञ्चकको पहिलो दिन आज बिहान शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नेपाली संस्कृति, परम्परा र प्रकृतिसँगको आत्मीय सम्बन्धको महत्त्व उल्लेख गरेका छन् ।
उनले कागलाई यमराजको दूत मान्ने धार्मिक विश्वासअनुसार मीठा परिकार खुवाएर सम्मान गर्ने परम्परा रहेको स्मरण गरेका छन् । आधुनिक सञ्चारको विकास नहुँदा काग कराउनुलाई कुनै ठाउँबाट खबर वा पाहुना आउन लागेको संकेतका रूपमा लिने गरिएको सांस्कृतिक मान्यतालाई पनि उनले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले परिवारका सदस्यको नाममा यम दीपदान गर्ने परम्पराको चर्चा गर्दै यमराजलाई डरका प्रतीकका रूपमा मात्र नभई न्यायका प्रतीकका रूपमा पनि बुझ्नुपर्ने बताएका छन् । धार्मिक मान्यताअनुसार यमराजले दुष्कर्म गर्नेलाई दण्ड र सत्कर्म गर्नेलाई संरक्षण गर्ने उनको भनाइ छ ।
धन्वन्तरी जयन्तीका अवसरमा आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गर्दै उनले सबैको सुस्वास्थ्य र निरोगी जीवनको कामना गरेका छन् ।
त्यस्तै, आइतबार मनाइने कुकुर तिहारको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री शाहले कुकुरलाई मानव सभ्यताको विश्वासिलो र वफादार साथीका रूपमा चित्रण गरेका छन् । घरको सुरक्षादेखि अनुसन्धान र उद्धार कार्यसम्म कुकुरले मानिसलाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले यस पर्वले कुकुरप्रतिको प्रेम र कृतज्ञता अभिव्यक्त गर्नुका साथै सबै जीवजन्तुप्रतिको सहअस्तित्व र सद्भावलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
‘सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहेर समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा यी पर्वहरूले हामीलाई दिऊन्,’ प्रधानमन्त्री शाहले आफ्नो शुभकामना सन्देशमा लेखेका छन् ।
उनले सन्देशको अन्त्यमा ‘जय देश, जय संस्कृति’ उल्लेख गरेका छन् ।

प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार













प्रतिक्रिया