काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका कामकारबाहीलाई हिन्दी जासुसी फिल्मसँग तुलना गरेका छन् । उनले सरकारका गतिविधि अपारदर्शी, अनिश्चित र अन्योलपूर्ण रहेको टिप्पणी गरेका हुन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले हिन्दी जासुसी फिल्ममा असम्भव र अस्वाभाविक घटनासमेत देखाइने उल्लेख गर्दै सरकारको कार्यशैली पनि त्यस्तै बन्दै गएको आरोप लगाए ।
उनले कुन बेला कुन पत्रकार पक्राउ पर्ने, कसलाई आक्रमण गरिने तथा कर्मचारीतन्त्र र राजनीतिक नेताहरूमाथि के हुने भन्ने कुनै निश्चितता नरहेको बताए । सरकारका गतिविधिले मुलुकमा अन्योल र अशान्तिको वातावरण सिर्जना गरेको उनको दाबी थियो ।
प्रचण्डले पुराना राजनीतिक दलहरूमाथि भइरहेका नकारात्मक टिप्पणीप्रति पनि असन्तुष्टि जनाए । सत्ता पक्ष र नयाँ पुस्ताले विगतको राजनीतिक योगदानलाई बेवास्ता गर्न खोजेको उनको आरोप थियो ।
गणतन्त्र स्थापना, भौतिक पूर्वाधार निर्माण तथा ऊर्जा क्षेत्रमा परिवर्तन ल्याउन भूमिका खेलेका राजनीतिक दल र नेताहरूलाई अपराधीका रूपमा चित्रण गर्न खोजिएको भन्दै उनले आपत्ति जनाए ।
प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार













प्रतिक्रिया