काठमाडौं । एकदिवसीय विश्वकप खेल्ने नेपालको सपना अझै जीवित छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसके पनि नेपालले प्लेअफ चरण पार गर्दै सन् २०२७ को विश्वकप छनोट प्रतियोगितामा पुग्ने अवसर पाएको छ ।

तीन पटक आईसीसी टी–२० विश्वकप खेलिसकेको नेपालले अहिलेसम्म एकदिवसीय विश्वकपमा स्थान बनाउन सकेको छैन । एसोसिएट राष्ट्रका लागि एकदिवसीय विश्वकपसम्म पुग्ने महत्त्वपूर्ण बाटोका रूपमा रहेको लिग–२ मा यसपटक नेपाल छैटौँ स्थानमा सीमित भयो ।

लिग–२ को शीर्ष चारमा रहने टोलीले सिधै विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान थियो । त्यसअनुसार अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।

तर, तालिकाको तल्लो चारमा रहेका नेपाल, नामिबिया, क्यानडा र संयुक्त अरब इमिरेट्स (यूएई) का लागि विश्वकप छनोटको सम्भावना समाप्त भएको छैन । यी टोलीले च्यालेन्ज लिगबाट आएका जर्सी, कुवेत, इटाली र युगान्डासँग प्लेअफ खेल्नेछन् ।

आठ टोली सहभागी प्लेअफमा सबैले एकअर्कासँग एक–एक खेल खेल्नेछन् । प्रतियोगिताको अंकतालिकामा शीर्ष चार स्थान हासिल गर्ने टोली ग्लोबल छनोटमा पुग्नेछन् ।

घरेलु मैदानमा नेपाललाई सात खेल

नेपालका लागि यसपटक प्लेअफको अर्को सुखद पक्ष प्रतियोगिता आफ्नै घरेलु मैदानमा हुनु हो । डिसेम्बर ४ देखि २१ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका सबै खेल नेपालमा आयोजना हुनेछन् । घरेलु समर्थकको साथ र परिचित मैदानको फाइदा उठाउँदै नेपालले विश्वकप छनोटको यात्रा तय गर्न सक्ने अवसर पाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपालले पहिलो खेल मंसिर १८ गते इटालीसँग कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल्नेछ ।

नेपालको दोस्रो खेल मंसिर २० गते युगान्डासँग हुनेछ । त्यसपछि मंसिर २४ गते यूएई, मंसिर २६ गते जर्सी र मंसिर २८ गते क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, नेपालले पुस ३ गते नामिबिया र पुस ६ गते कुवेतसँग खेल्नेछ । नेपालका सातवटै खेल कीर्तिपुर मैदानमा हुनेछन् ।

ग्लोबल छनोटबाट विश्वकपको यात्रा

ग्लोबल छनोटमा यसअघि नै आयरल्यान्ड, वेस्ट इन्डिज, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड र अमेरिकाले स्थान पक्का गरिसकेका छन् । प्लेअफबाट छनोट हुने चार टोली थपिएपछि ग्लोबल छनोटमा सहभागी टोलीको सङ्ख्या १० पुग्नेछ ।

ग्लोबल छनोटबाट शीर्ष चार टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

यसरी लिग–२ मा अपेक्षित नतिजा निकाल्न नसकेको नेपालसँग अब घरेलु मैदानमै उत्कृष्ट प्रदर्शन गरेर विश्वकप छनोटको ढोका खोल्ने अवसर छ । सात खेलमा हासिल गर्ने नतिजाले नेपाली क्रिकेटको आगामी यात्राको दिशा तय गर्नेछ ।

प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com