काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीलगायत विकासमा पछाडि पारिएका क्षेत्रको समृद्धिका लागि पहिलो गणतान्त्रिक सरकारले नै आधार तयार पारेको दाबी गरेका छन् ।

लेखक डा. दीपेन्द्र रोकाय र मोहनदास मानन्धरद्वारा लिखित ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले विभेदमा परेका वर्ग र क्षेत्रलाई विकासको मूल प्रवाहमा ल्याउन आफू प्रधानमन्त्री हुँदा कर्णालीमा पूर्वाधार विकासका काम अघि बढाएको बताए ।

सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउनुको उद्देश्य पनि कर्णालीजस्ता पिछडिएका क्षेत्रको विकास र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनु रहेको उनको भनाइ थियो ।

प्रचण्डले पूर्व–पश्चिम मध्यपहाडी राजमार्ग र उत्तर–दक्षिण करिडोर निर्माणले मुलुकलाई थप जोडेको उल्लेख गरे । यी सडक सञ्जालका कारण कर्णालीका स्याउ अन्य जिल्लामा पुर्‍याउन र तराईका कृषि उत्पादन कर्णालीसम्म लैजान सहज भएको उनले बताए ।

उनले आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले कर्णालीको समृद्धिका लागि १० हजार ८०० मेगावाट क्षमताको कर्णाली–चिसापानी आयोजना तथा तिला–१ र तिला–२ जलविद्युत् आयोजना अघि बढाउन पहल गरेको जानकारी दिए ।

त्यस्तै, चीनको सहयोगमा हिल्सा–सुर्खेत सडक निर्माण अघि बढाउने विषयमा सैद्धान्तिक समझदारी भएको प्रसंग पनि उनले स्मरण गरे ।

प्रचण्डले कर्णालीको विकासका लागि दीर्घकालीन सोच र रणनीतिक नेतृत्व आवश्यक रहेको धारणा राखे ।

प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com