बुटवल । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले पछिल्लो ३५ वर्षमा मुलुकमा कुनै विकास नभएको भन्ने भाष्य गलत रहेको बताएका छन् । उनले विगतका सरकार र राजनीतिक नेतृत्वले गरेका योगदानलाई बेवास्ता गरेर वर्तमानलाई मात्र उपलब्धिका रूपमा प्रस्तुत गर्न नहुने धारणा राखेका हुन् ।

शनिबार बुटवलमा नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर–२ द्वारा आयोजित कार्यक्रममा बोल्दै भण्डारीले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा आवश्यक कर्मचारी उपलब्ध गराउन तत्कालीन सरकारले चासो नदिएको दाबी गरे ।

उनले बालेनले आफूलाई अधिकृत पठाउन पहल गरिदिन आग्रह गरेको र आफूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न नेताहरू तथा मुख्यसचिव र सचिवहरूसँग कुरा राखेको बताए । तर, नेताहरूको व्यक्तिगत महत्त्वाकांक्षाका कारण उक्त आग्रह सम्बोधन नभएको उनको भनाइ थियो ।

‘त्यतिबेला बालेनको आग्रह सुनिएको भए उहाँ दोस्रो पटक पनि मेयरमा उठ्नुहुन्थ्यो,’ भण्डारीले भने, ‘पद र महत्त्वाकांक्षाका कारण कसैले कुरा मानेनन्, त्यसको परिणाम अहिले भोग्नुपरिरहेको छ ।’

उनले विगतका कमजोरीबाट पाठ सिकेर अहिलेको अवस्थामा सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए । नेताहरू सत्ता र पैसाको मोहमा अल्झिँदा त्यसको असर राजनीतिमा परेको उनको टिप्पणी थियो ।

सामाजिक सञ्जालमा दर्शक र अनुयायी बढाउँदैमा सरकार सफल नहुने भन्दै उनले जनताका वास्तविक समस्या समाधानमा ध्यान दिनुपर्ने बताए ।

भण्डारीले विगतका सरकारले गरेका विकास निर्माणका कामको पनि मूल्यांकन हुनुपर्ने उल्लेख गरे । उनले केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणका लागि गरेको प्रयासको उदाहरण दिँदै विगतका योगदानलाई पूर्ण रूपमा नकार्न नहुने बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुशील गुरुङले वर्तमान सरकारका गतिविधि विधिको शासनअनुकूल नभएको टिप्पणी गरे । उनले जनताले आफ्ना आवाज उठाउनुपर्ने बताउँदै पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो व्यवहार र आचरण सुधार्न आग्रह गरे ।

प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com