काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले प्रधानमन्त्री बालेन शाह र उनका प्रमुख सल्लाहकार कुमार बेनसँग निकट सम्बन्ध भएका व्यक्तिहरूले आफूविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको आशंका व्यक्त गरेका छन् ।
कांग्रेस सभापतिविरुद्ध फैलाइएको भनिएको भ्रामक प्रचारबारे टिप्पणी गरेपछि प्रहरीले पटक–पटक सम्पर्क गरी उपस्थित हुन ताकेता गरेकाले आफू आइतबार दिउँसो भोटाहिटीस्थित साइबर ब्युरो पुगेको उनले बताएका छन् ।
ब्युरो परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै शिवाकोटीले प्रतिपक्षीको आवाज दबाउन र राजनीतिक प्रतिशोध साँध्न राज्य संयन्त्रको दुरुपयोग भइरहेको आरोप लगाए ।
आफूविरुद्ध उजुरी दिने व्यक्तिबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले सरकारमा रहेका वा प्रधानमन्त्री र उनका सल्लाहकारसँग निकट सम्बन्ध भएका व्यक्तिहरूको संलग्नता हुन सक्ने आशंका गरे ।
‘सरकारकै मान्छेले हालेका हुन् कि सरकार निकटकाले हालेका हुन् ? सरकारको नेतृत्वमा पुगेकाहरूसँग फोटो खिचाएका, बालेन र कुमार बेनसँगै खाना र दारु खाएकाहरूले पो हालेका हुन् कि ! तर जसले उजुरी हालेको भए पनि म कानुन मान्ने मान्छे भएकाले छलफलका लागि आएको हुँ,’ उनले भने ।
शिवाकोटीले प्रधानमन्त्री बालेन शाहको विगतको अभिव्यक्ति स्मरण गर्दै अहिले सरकारको नेतृत्वमा पुगेपछि अभिव्यक्ति स्वतन्त्रताप्रति फरक व्यवहार देखाइएको आरोप लगाए ।
‘कुनै समय अहिलेका प्रधानमन्त्रीले सिंहदरबार जलाइदिन्छु भन्दा अभिव्यक्ति स्वतन्त्रता र आवेगको कुरा भनेर छुट दिइयो,’ उनले भने, ‘तर आज उनी नै प्रधानमन्त्री हुँदा उनका सल्लाहकार र निकटस्थहरू प्रतिपक्षीको आवाज रोक्न, कसैलाई सिध्याउन र मुख बन्द गराउन लागिपरेका छन् । यो सरकार नयाँ बोतलमा पुरानै रक्सी जस्तो मात्रै भयो।’
कांग्रेसप्रति बढ्दो जनसमर्थन देखेर सरकार आत्तिएको दाबी गर्दै उनले बालुवाटारलाई भ्रामक प्रचारको केन्द्र बनाइएको आरोपसमेत लगाए । कांग्रेस सभापतिविरुद्ध प्रायोजित सामग्री तयार पारेर पक्राउ पर्ने हल्ला फैलाइएको उनको भनाइ थियो ।
‘सरकार डराएर अनेक प्रोपोगान्डा गरिरहेको छ । त्यो मेसिनरीको पावरहाउस बालुवाटार बनेको छ,’ उनले भने, ‘हाम्रा पार्टी सभापतिमाथि पनि प्रायोजित र भ्रामक सामग्री बनाएर पक्राउको हल्ला फैलाइयो । यस्ता हर्कतले हामीलाई रक्षात्मक बनाउन सकिँदैन, हामी भण्डाफोर गर्छौं।’
आफू कानुन र लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने भएकाले प्रहरीको ताकेताबाट नभागी स्वयं साइबर ब्युरोमा उपस्थित भएको उनले बताए । लोकतान्त्रिक प्रक्रियाबाट सत्तामा पुगेको सरकार नै निरंकुश बन्न खोज्नु दुर्भाग्यपूर्ण भएको उनको टिप्पणी थियो ।
प्रकाशित मिति: २२ कार्तिक २०८३, आइतबार













प्रतिक्रिया