काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मार्फत भएको भनिएको करोडौँ रुपैयाँको अनियमितता प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुजल डेरीमाथिको अनुसन्धान तीव्र पारेको छ।
अनुसन्धानका क्रममा सुजल डेरीले डीडीसीबाट बजार मूल्यभन्दा निकै कम मूल्यमा ५० टन बटर खरिद गर्दा राज्यलाई करिब ५ करोड रुपैयाँ नोक्सानी भएको आशंका गरिएको छ। यस प्रकरणमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ सम्बद्ध सुजल डेरीमाथि अनुसन्धान भइरहेको छ।
सीआईबीले डीडीसीका तत्कालीन महाप्रबन्धक सञ्जीव झा सहितका अधिकारीहरूको बयान तथा संस्थानका आर्थिक कागजात अध्ययन गर्ने क्रममा बटर खरिदमा अस्वाभाविक मूल्य अन्तर देखिएको जनाएको छ। यसका साथै सुजल डेरीले डीडीसीको दुग्धजन्य पदार्थमा कर्मचारीहरु सँगको सेटिङमा गरेको अन्य घोटाला र लामो समयसम्म भुक्तानी नगरेको विषयमा समेत अनुसन्धान भइरहेको छ।
सीआईबीले डीडीसीको आर्थिक विवरण र खातापाताको परीक्षण गर्दै वास्तविक बक्यौता तथा सम्भावित आर्थिक क्षतिको यकिन गर्ने प्रक्रिया अघि बढाएको छ। डीडीसीमा भएको भनिएको कुल १२ करोड १० लाख रुपैयाँको अनियमिततामध्ये करिब ५ करोड रुपैयाँ सुजल डेरीसँग सम्बन्धित रहेको अनुसन्धान स्रोतको दाबी छ।
डिडीसीमा सुजल डेरीले गरेको सेटिङ, मनोमानी र आर्थिक घोटाला सम्बन्धी विषयमा ग्लोबल नागरिकले लामो समय देखी समाचार प्रकाशन तथा प्रसारण गर्दै आईरहेको छ।
प्रकाशित मिति: २२ कार्तिक २०८३, आइतबार













प्रतिक्रिया