सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रहरीले जुवातासविरुद्ध विशेष अपरेसन सञ्चालन गर्दै एकै रातमा ३५ जनालाई पक्राउ गरेको छ।

आइतबार रातभर सञ्चालन गरिएको अपरेसनमा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटा आफैँ फिल्डमा खटिएका थिए। प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले वीरेन्द्रनगरका विभिन्न स्थानमा छापा मारेर जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले वीरेन्द्रनगर–४ मुलपानी चोकस्थित सुशील भारतीको घरमा छापा मार्दा ४ लाख १ हजार ४८६ रुपैयाँ नगदसहित १२ जनालाई पक्राउ गरेको छ। त्यस्तै, वीरेन्द्रनगर–६ बुद्धपथस्थित खिमराज काफ्लेको घरबाट ५ हजार ८०० रुपैयाँसहित पाँच जना पक्राउ परेका छन्। उक्त स्थानमा गरिएको छापामा डीआईजी सापकोटा आफैँ सहभागी भएका थिए।

यसैगरी, वीरेन्द्रनगर–१० बुलबुले चोकस्थित डिलाराम गिरीको घरबाट १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त स्थानबाट १ लाख ८१ हजार रुपैयाँ नगद बरामद भएको छ। पक्राउ पर्नेमा घरधनी गिरीसहित विभिन्न स्थानका व्यक्तिहरू रहेका छन्।

त्यस्तै, वीरेन्द्रनगर–३ गण्डकीलाइनबाट आठ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ३ लाख ७७ हजार ८५० रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार विभिन्न स्थानमा गरिएको छापाबाट कुल ३५ जना पक्राउ परेका छन् भने ९ लाख ६६ हजार १३६ रुपैयाँ नगद बरामद भएको छ। प्रहरीले जुवातास नियन्त्रणका लागि अपरेसनलाई तीव्रता दिएको जनाएको छ।

प्रकाशित मिति: २३ कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com