काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयान र सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचनाका आधारमा पार्टी तथा नेताहरूलाई बदनाम गर्ने प्रयास भइरहेको बताएका छन्।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले कुनै पनि आरोपको सत्यता पुष्टि नगरी त्यसैका आधारमा धारणा बनाउन नहुने बताए।

पूर्वसभापति शेरबहादुर देउवाको टिप्पणीप्रति लक्षित गर्दै उनले बिचौलियाले कसैको नाम लिएकै भरमा नेताहरूले करोडौँ रुपैयाँ लिएको निष्कर्ष निकाल्नु गलत हुने धारणा राखे।

‘एउटा बिचौलियाले कहीँ भन्यो अरे। त्यसैका आधारमा यति खायो रे, उति बुझायो रे, यति करोड बुझायो रे भनेर फेसबुकमा लेखेर हुन्छ?’ उनले प्रश्न गरे।

शर्माले आफू र कांग्रेस सभापति गगन थापालाई जोडेर करोडौँ रुपैयाँ बुझाएको भन्दै लगाइएका आरोपको पनि खण्डन गरे। गगन थापा जीवनमा थोरै समय मात्रै मन्त्री बनेको र आफू सांसद मात्रै भएको उल्लेख गर्दै उनले यस्ता आरोपको कुनै आधार नरहेको दाबी गरे।

बिचौलियाको भनाइ मात्रैलाई प्रमाण मान्न नसकिने तर्क गर्दै शर्माले बैंक डकैतीमा पक्राउ परेको व्यक्तिले कसैको नाम लिँदैमा त्यसलाई अदालतले प्रमाणका रूपमा स्वीकार नगर्ने उदाहरणसमेत दिए।

कांग्रेसको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका प्रक्रिया पार्टीको विधि, विधान, संविधान र कानुनअनुसार सम्पन्न भएको उनको दाबी थियो। बदलिँदो परिस्थिति र राष्ट्रिय आवश्यकताअनुसार पार्टीलाई नयाँ ढङ्गले अघि बढाउने उनले बताए।

उपसभापति शर्माले गगन थापाको नेतृत्वमा कांग्रेस योजनाबद्ध रूपमा अघि बढिरहेको उल्लेख गर्दै पार्टीलाई चुस्त र व्यवस्थित बनाउन नेता तथा कार्यकर्ताबीच एकता आवश्यक रहेको बताए।

उनले काभ्रेका नेता तथा कार्यकर्तालाई संगठनको जग बलियो बनाउन आग्रह गर्दै अनावश्यक तनावमा नपरी अध्ययन, मेहनत र आत्मविश्वासका साथ संगठन निर्माणमा जुट्न निर्देशन दिए।

प्रकाशित मिति: २४ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com