काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति घोषणा भएसँगै पार्टीको भावी नेतृत्व र पदाधिकारी चयनबारे राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। महाधिवेशन नजिकिँदै गर्दा युवा नेताहरूले पनि विभिन्न पदमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने तयारी गरिरहेका छन्। यसैक्रममा युवा नेता भूपेन्द्रजंग शाहीले महामन्त्री पदमा उम्मेदवारी दिने तयारीसहित पार्टीभित्र आफ्नो सक्रियता बढाएका छन्।
नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष र नेपाल तरुण दलको केन्द्रीय महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका शाही कांग्रेसको संगठन निर्माण र युवा परिचालनमा लामो समयदेखि सक्रिय छन्। उनले २०७० सालको संविधानसभा निर्वाचनमा कालिकोटबाट उम्मेदवारी दिएका थिए भने २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रतिस्पर्धा गरेका थिए। १४औँ महाधिवेशनमा कर्णाली प्रदेश सभापति पदका प्रत्यासी बनेका शाहीले पार्टीभित्र आफ्नो राजनीतिक उपस्थिति र संगठनात्मक सक्रियता विस्तार गर्दै आएका छन्।
शाही पछिल्लो समय संगठन निर्माण, पार्टी सुदृढीकरण र युवा परिचालनका अभियानमा विशेष सक्रिय देखिन्छन्। २०८० जेठ ११ गतेदेखि मेचीदेखि महाकालीसम्म संगठन निर्माण अभियान सञ्चालन गर्दै गाउँदेखि जिल्ला तहसम्म पुगेका उनले २०८० चैत २ गतेदेखि कर्णालीमा ‘संगठन सुदृढीकरण यात्रा’ सुरु गरेका थिए। सल्यानको कपुरकोटदेखि हुम्लाको सिमिकोटसम्म कठिन भूगोलका गाउँबस्तीमा पुगेर कार्यकर्ता तथा स्थानीय नागरिकसँग संवाद गरेका थिए।
त्यस्तै, युवाका मुद्दालाई राष्ट्रिय राजनीतिको केन्द्रमा ल्याउने उद्देश्यसहित उनले २०८१ कात्तिक २३ गते पूर्वको मेचीनगरदेखि पश्चिमको महेन्द्रनगरसम्म युवा सङ्कल्प यात्रा सञ्चालन गरेका थिए। भ्रष्टाचार अन्त्य, सुशासन, युवालाई रोजगारीको ग्यारेन्टी, उद्यमशीलता प्रवर्द्धन, कृषिमा युवाको सहभागिता र नागरिकमैत्री सरकार निर्माण उनका अभियानका प्रमुख एजेन्डा थिए। युवालाई राजनीतिक तथा सामाजिक गतिविधिमा जोड्ने उद्देश्यले २०८१ माघ ११ र १२ गते सुर्खेतमा कर्णाली युथ फेस्टिभलसमेत आयोजना गरेको शाहीले बताए ।
कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद र नेतृत्वको कार्यशैलीप्रति शाहीले आफ्नो फरक धारणा सार्वजनिक गर्दै आएका छन्। विशेष महाधिवेशनको प्रक्रियालाई लिएर उनले पार्टी विभाजन र कमजोर हुने खतरा औँल्याउँदै नियमित महाधिवेशनमार्फत एकता कायम गर्नुपर्ने धारणा राखेका थिए। विशेष महाधिवेशनका नाममा पार्टीभित्र हतारमा निर्णय लिनुभन्दा संवाद, सहमति र संस्थागत प्रक्रियालाई प्राथमिकता दिनुपर्ने उनको जोड रहँदै आएको थियो ।
जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा पनि शाहीले आफ्नो धारणा सार्वजनिक गरेका थिए। आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र अराजक गतिविधिको विरोध गर्दै उनले लोकतान्त्रिक व्यवस्था, राजनीतिक दल र सार्वजनिक सम्पत्तिको संरक्षणमा सबै जिम्मेवार हुनुपर्ने बताएका थिए। पार्टीका कतिपय नेता मौन रहेको अवस्थामा उनले देशभरका कार्यकर्ता तथा नागरिकसँग संवाद गर्दै कांग्रेसले स्पष्ट राजनीतिक धारणा बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए।
विशेष महाधिवेशन र पार्टी नेतृत्व परिवर्तनको प्रक्रियालाई लिएर निर्वाचन आयोगको भूमिकामाथि समेत उनले प्रश्न उठाउँदै आएका छन्। उक्त प्रक्रियामा राजनीतिक तथा कानुनी विवाद उत्पन्न भएको भन्दै शाहीले पार्टीभित्रको समस्या संवाद र विधिसम्मत प्रक्रियाबाट समाधान हुनुपर्ने धारणा राख्दै आएका छन्।
पछिल्लो समय चर्चामा रहेको १८ करोड रुपैयाँको भनिएको सेटिङ तथा बिचौलिया इनम सापकोटासँग जोडिएको प्रकरणमा पनि शाहीले निष्पक्ष छानबिनको माग गरेका छन्। उक्त विषयमा छानबिन सम्पन्न नभएसम्म कांग्रेस सभापति गगन थापा पदबाट अलग भएर कार्यवाहक सभापति विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिनुपर्ने उनको धारणा छ।
शाहीले उक्त प्रकरणसँग जोडिएका न्यायिक तथा प्रशासनिक भूमिकामाथि समेत निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन्। निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा पार्टीको नेतृत्व परिवर्तनसँग सम्बन्धित प्रक्रियामा देखिएका घटनाक्रम रहस्यमय रहेको भन्दै उनले निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाउँदै आएका छन्। यद्यपि, यी विषयमा उठेका आरोप र आशङ्काको आधिकारिक पुष्टि सम्बन्धित निकायको अनुसन्धान तथा निष्कर्षबाट हुन बाँकी छ।
शाहीले कांग्रेसलाई परम्परागत कार्यशैलीबाट बाहिर निकालेर समयअनुकूल रूपान्तरण गर्नुपर्ने बताउँदै आएका छन्। पार्टी गुटबन्दी, भागबन्डा, व्यक्तिगत स्वार्थ, अवसरवाद र चाकडीवादबाट मुक्त हुनुपर्ने उनको धारणा छ। पार्टी सत्ता केन्द्रित नभई जनताकेन्द्रित बन्नुपर्ने, कार्यकर्तालाई समान अवसर दिनुपर्ने र आर्थिक तथा राजनीतिक प्रभावभन्दा विचार, सिद्धान्त र नैतिक मूल्यका आधारमा नेतृत्व चयन हुनुपर्नेमा उनले जोड दिँदै आएका छन्।
सूचना तथा प्रविधिको तीव्र विकाससँगै बदलिएको राजनीतिक परिवेशलाई बुझेर कांग्रेसले आफ्नो संगठन, कार्यशैली र नेतृत्व प्रणालीमा सुधार गर्नुपर्ने उनको भनाइ छ। आम कार्यकर्ताको भावना, युवाको आकाङ्क्षा र नागरिकको अपेक्षालाई पार्टीले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने उनले बताउँदै आएका छन्।
राजनीतिसँगै साहित्य र सामाजिक सेवामा समेत रुचि राख्ने शाही कर्णालीको कालिकोटबाट राष्ट्रिय राजनीतिमा स्थापित हुने यात्रामा छन्। संगठन निर्माणका अभियान, गाउँबस्तीमा पुगेर गर्ने संवाद, युवा परिचालन र पार्टीभित्रका समसामयिक विषयमा स्पष्ट धारणा राख्ने शैलीले उनलाई कांग्रेसभित्र सक्रिय युवा नेताका रूपमा चिनाएको छ।
१५औँ महाधिवेशनलाई पार्टीको नेतृत्व चयन मात्र नभई संगठनात्मक सुधार र राजनीतिक पुनर्जागरणको अवसरका रूपमा लिनुपर्ने शाहीको धारणा छ। उनी भन्छन्, ‘पार्टी अब सुस्त लय, गतिहीन र कामचलाउ शैलीमा चल्न सक्दैन। गुटबन्दी, भागबन्डा, व्यक्तिगत स्वार्थ र अवसरवादको राजनीति अन्त्य हुनुपर्छ।’
कांग्रेसको आगामी महाधिवेशनमा महामन्त्री पदका लागि शाहीको तयारीले पार्टीभित्र युवा नेतृत्वको बहसलाई थप चासोपूर्ण बनाएको छ। संगठनात्मक अनुभव, निरन्तरको राजनीतिक सक्रियता र पार्टीभित्र आफ्ना विचार स्पष्ट रूपमा राख्ने शैली उनका राजनीतिक विशेषता हुन्। यद्यपि, महामन्त्रीको प्रतिस्पर्धामा उनको सम्भावना कति बलियो हुन्छ भन्ने कुरा महाधिवेशनको समीकरण, प्रतिनिधिहरूको समर्थन र पार्टीभित्रको राजनीतिक परिस्थितिले निर्धारण गर्नेछ।
प्रकाशित मिति: २४ कार्तिक २०८३, मंगलबार













प्रतिक्रिया