काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायु जोखिमको सही आकलन र प्रभावकारी वित्तीय व्यवस्थापनका लागि मौसम तथा जलवायु तथ्यांकमा आधारित प्रणाली विकास गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।

टर्कीको आन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) अन्तर्गत युएनएफसीसीसी प्याभिलियनमा आयोजित कार्यक्रममा बोल्दै उनले तथ्यांक र निर्णयबीचको दूरी घटाउनुपर्नेमा जोड दिएका हुन्।

सम्बोधनका क्रममा उनले गत अगस्ट २६ मा नेपालको भोटेकोशी–त्रिशूली करिडोरमा चट्टानी भित्तो भत्किएर आएको लेदोसहितको बाढीको उदाहरण प्रस्तुत गरे। त्यसबेला नेपालका वर्षा र नदीको सतह मापन गर्ने उपकरणले जोखिमको संकेत दिन नसकेको उनले बताए।

नेपाल तथ्यांकविहीन देश नभई उपलब्ध तथ्यांकलाई निर्णय र वित्तीय व्यवस्थासँग जोड्न नसकेको उनको भनाइ थियो। उनका अनुसार भरपर्दो अवलोकन प्रणालीबिना पूर्वसूचना, जोखिममा आधारित बीमा र पूर्वव्यवस्थित वित्तीय सहायता प्रभावकारी हुन सक्दैनन्। यस्तो अवस्थामा देशहरू महँगो ऋणमा निर्भर हुनुपर्ने जोखिम रहन्छ।

जलवायु परिवर्तनको सबैभन्दा ठूलो भार कम क्षमता भएका देशले खेपिरहेको उल्लेख गर्दै उनले आधारभूत अवलोकन प्रणालीमा लगानी र अन्तर्राष्ट्रिय सहकार्य बढाउन आग्रह गरे।

नेपालले सन् २०२६ मा भोगेका घटनाबाट सिकेका पाठलाई विश्वव्यापी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले भविष्यमा जलवायु जोखिमको पूर्वानुमान गर्दा वर्षा मात्र नभई पहाडको अवस्थासमेत मापन गर्न सक्ने प्रणाली विकास गर्नुपर्ने बताए।

प्रकाशित मिति: २५ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com