एजेन्सी । विश्वकै प्रमुख कृत्रिम बौद्धिकता चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआंग विवादमा तानिएका छन्। उनीसँग जोडिएको भनिएको व्यक्तिगत सम्बन्ध र विदेशी गुप्तचर निकायको सम्भावित संलग्नताबारेका खुलासापछि उनको नेतृत्वमाथि प्रश्न उठेको छ।

ब्लुमबर्ग न्युजको रिपोर्टअनुसार विवादको केन्द्रमा रहेकी एलिस हुआंग चीन फर्किएकी छन्। उनी अहिले चीनको राजधानी बेइजिङमा बसिरहेको र त्यहाँका सुरक्षा अधिकारीहरूलाई यसबारे जानकारी रहेको रिपोर्टमा दाबी गरिएको छ। अमेरिकी गुप्तचर अधिकारीहरूले एलिसलाई सम्भावित चिनियाँ गुप्तचर एजेन्टका रूपमा पहिचान गरेको समाचारमा उल्लेख छ। यद्यपि, उनी जासुस भएको स्वतन्त्र पुष्टि भएको छैन।

यसैबीच, द न्युयोर्क टाइम्सको अर्को रिपोर्टले जेनसनको व्यक्तिगत सम्बन्धबारे नयाँ विवरण सार्वजनिक गरेको छ। एनभिडियाका पाँच पूर्वकर्मचारीलाई उद्धृत गर्दै प्रकाशित रिपोर्टमा जेनसनको कम्पनीकै वरिष्ठ अधिकारी किम्बर्ली पावेलसँग प्रेम सम्बन्ध रहेको दाबी गरिएको छ। पावेल कम्पनीको स्वास्थ्य सेवा विभागकी उपाध्यक्ष हुन् र सीधै जेनसनलाई रिपोर्ट गर्छिन्।

रिपोर्टअनुसार सन् २०२६ को मार्चमा सान होजेमा आयोजित एनभिडियाको वार्षिक सम्मेलनका क्रममा जेनसन र पावेललाई नजिक देखिएको थियो। त्यहाँ उपस्थित एक व्यक्तिले खिचेको भनिएको भिडियोमा जेनसनको सुरक्षा टोलीले हस्तक्षेप गरेको दाबी गरिएको छ। तर उक्त भिडियो आफूले स्वतन्त्र रूपमा पुष्टि नगरेको अखबारले जनाएको छ।

यस प्रकरणबारे छलफल गर्न एनभिडियाको सञ्चालक समितिले महत्त्वपूर्ण बैठक बोलाएको समाचारमा उल्लेख छ। जेनसनलाई सीईओ पदबाट हटाउने वा निरन्तरता दिने विषयमा छलफल हुन सक्ने बताइएको छ। यसअघि भने सञ्चालक समितिले जेनसनप्रति पूर्ण विश्वास रहेको जनाएको थियो।

विदेशी गुप्तचर निकायको सम्भावित हस्तक्षेपबारे अनुसन्धान गर्न कम्पनीले कानुनी संस्था वाचटेल, लिप्टन, रोजेन एन्ड क्याट्जलाई जिम्मेवारी दिएको पनि समाचारमा उल्लेख छ।

विवादको असर कम्पनीको सेयर मूल्यमा परेको दाबी गरिएको छ। समाचारअनुसार कारोबारपछिको समयमा एनभिडियाको सेयर मूल्य करिब आठ प्रतिशतसम्म घटेको थियो भने यसै साता कम्पनीको बजार पुँजीकरणमा करिब ६०० अर्ब अमेरिकी डलरको गिरावट आएको उल्लेख छ।

करिब चार ट्रिलियन अमेरिकी डलर बजार मूल्य रहेको एनभिडियालाई तीन दशकभन्दा लामो समयदेखि नेतृत्व गर्दै आएका जेनसनको सम्भावित बहिर्गमनले कम्पनीमा नेतृत्वको संकट निम्त्याउन सक्ने विश्लेषण गरिएको छ।

प्रकाशित मिति: २६ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com