काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले नेपाली नागरिकलाई कन्सुलर सेवा सहज बनाउन अवैतनिक वाणिज्यदूतमार्फत सेवा प्रदान गर्ने प्रक्रिया अघि बढाइएको बताए।

टर्कीमा नेपाली राजदूतावास स्थापना गर्ने वा दक्षिणपूर्वी युरोपका देशलाई समेत समेट्ने गरी कन्सुलर सेवा विस्तार गर्ने विषयमा सरकारले अध्ययन गरिरहेको उनले बताए।

बिचौलियाको प्रलोभनमा परी ठूलो रकम खर्च गरेर रोजगारीका लागि टर्की पुग्ने नेपाली श्रमिक समस्यामा पर्ने गरेको उल्लेख गर्दै मन्त्री खनालले सुरक्षित र वैधानिक वैदेशिक रोजगारीका लागि टर्की सरकारसँग द्विपक्षीय श्रम सम्झौता गर्ने सम्भावनाबारे अध्ययन गरिने बताए।

समस्यामा परेका नेपालीको उद्धार तथा सहयोगमा एनआरएनएले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले श्रमिकका समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

ज्ञापनपत्र बुझाउँदै एनआरएनए टर्कीका अध्यक्ष विनोद पौडेलले टर्कीमा नेपाली राजदूतावास वा नियमित कन्सुलर सेवा स्थापना गर्न, व्यक्तिगत श्रम स्वीकृति बन्द गरी संस्थागत माध्यमबाट मात्र श्रमिक पठाउने व्यवस्था गर्न, श्रम शोषण र ठगी नियन्त्रण गर्न तथा घरेलु महिला श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग गरेका थिए। उनले अलपत्र श्रमिकको उद्धारका लागि स्थायी सरकारी संयन्त्र निर्माण गर्न पनि आग्रह गरेका थिए।

मन्त्री खनाल कोप–३१ सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीमा छन्।

प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com