काठमाडौं । सरकारले छठ पर्वको अवसरमा आगामी कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले बिहीबार सूचना जारी गर्दै यसअघि कात्तिक २९ गते आइतबारका लागि तोकिएको छठ पर्वको बिदालाई निरन्तरता दिँदै भोलिपल्ट सोमबारसमेत बिदा दिने जानकारी गराएको हो।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामा छठ पर्वको अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गर्ने धार्मिक परम्परा रहेकाले थप एक दिन बिदा दिने निर्णय गरिएको उल्लेख छ।
सरकारको निर्णयसँगै छठ पर्वका अवसरमा आइतबार र सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।
प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार













प्रतिक्रिया