काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले निर्धारित समयमै स्थानीय तहको निर्वाचन गराउनेमा आशंका व्यक्त गरेका छन्।
जनकपुर पुगेका पौडेलले आगामी चैतमा निर्वाचन हुने नहुनेबारे नै अन्योल सिर्जना भएको भन्दै समयमै चुनाव नभए स्थानीय तह निर्वाचनविहीन बन्न सक्ने चिन्ता व्यक्त गरेका हुन्।
उनले निर्वाचनको मिति नजिकिँदै गर्दा पनि सरकारले आवश्यक तयारी नगरेको आरोप लगाए। आन्तरिक रूपमा के भइरहेको छ भन्नेबारे अन्य राजनीतिक दल र आम नागरिकलाई जानकारी नभएको भन्दै उनले तोकिएको समयभित्र निर्वाचन गराउनु नै अहिले मुख्य चुनौती बनेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको जस्तो दलीय प्रतिस्पर्धाभन्दा स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने व्यवस्था लागू गर्न संविधान संशोधन आवश्यक पर्ने पौडेलको भनाइ छ।
सरकारले निर्वाचन प्रणाली परिवर्तनका लागि कुनै ठोस गृहकार्य नगरेको उनले दाबी गरे। संविधान सुधार कार्यदल गठन गरेर बहस सुरु गरे पनि त्यसलाई कार्यान्वयन गर्ने स्पष्ट तयारी र नेतृत्व नदेखिएको उनको टिप्पणी छ।
निर्वाचन प्रणाली परिवर्तन गर्न खोजेको तर अरूको असहयोगका कारण सम्भव नभएको देखाउने उद्देश्यले सरकारले यस्तो बहस अघि सारेको हुन सक्ने पौडेलले आरोप लगाए।
उनले निर्वाचन प्रणाली परिवर्तन गर्न जिम्मेवारी, नेतृत्व र आवश्यक तयारी स्पष्ट हुनुपर्ने उल्लेख गर्दै सार्वजनिक रूपमा चर्चा गरेर मात्रै परिवर्तन सम्भव नहुने बताए।
प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार













प्रतिक्रिया