काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली पाकिस्तानको लाहोरलाई पछि पार्दै शुक्रबार विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। दिल्लीको वायु गुणस्तर खस्किएर जनस्वास्थ्यका लागि गम्भीर जोखिमपूर्ण अवस्थामा पुगेको छ।

स्विस संस्था ‘आईक्यूएयर’का अनुसार दिल्लीको वायु गुणस्तर सूचकांक (एक्यूआई) ३३४ पुगेको छ। यो स्तर ‘अत्यन्त अस्वस्थ’ श्रेणीमा पर्छ।

यता, भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले दिल्लीको एक्यूआई ४०३ मापन गरेको छ, जुन ‘गम्भीर’ श्रेणीमा पर्छ। वायु गुणस्तर मापन गर्ने फरक प्रणाली र मापदण्डका कारण दुई संस्थाले सार्वजनिक गरेका तथ्यांकमा भिन्नता देखिएको हो।

शहरका विभिन्न क्षेत्र बाक्लो विषाक्त धुवाँ र तुवाँलोले ढाकिएका छन्। सडकमा सवारीसाधन तुवाँलोबीच गुडिरहेका देखिन्छन् भने मुख्य सडकका बत्तीको उज्यालोसमेत धुवाँका कारण मधुरो बनेको छ।

प्रदूषणको उच्च स्तरले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने चेतावनी दिइएको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा छन्।

भारत र पाकिस्तानका विभिन्न क्षेत्रमा जाडोयाम सुरु भएसँगै वायु प्रदूषणको समस्या प्रत्येक वर्ष गम्भीर बन्ने गरेको छ। प्रदूषक तत्त्वको मात्रा बढ्दा वायुको गुणस्तर तीव्र रूपमा खस्किने र मानिसहरूमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्ने बताइएको छ।

प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com