काठमाडौं । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण तथा सामाजिक र आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।
एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (युएन इस्क्याप) को सामाजिक विकास समितिको नवौँ अधिवेशनमा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले नेपालको सामाजिक तथा आर्थिक विकासका प्राथमिकताबारे जानकारी गराएका छन् ।
शुक्रबार आयोजित अधिवेशनमा उनले आर्थिक वृद्धि र सामाजिक समावेशितालाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए । विकास प्रक्रियामा पछाडि पारिएका समुदायको सहभागिता सुनिश्चित गर्नुका साथै विकासबाट प्राप्त हुने प्रतिफलमा उनीहरूको समान पहुँच स्थापित गर्न आवश्यक रहेको उनले बताए ।
उनले नेपालको नीतिगत सुधारका प्रमुख प्रयासबारे जानकारी दिँदै राष्ट्रिय रोजगार नीति र राष्ट्रिय औद्योगिक नीतिको पुनरावलोकनलगायतका विषय प्रस्तुत गरेका थिए ।
ब्याङ्ककस्थित नेपाली राजदूतावासका अनुसार अधिवेशनमा नेपालले रोजगारीका अवसर विस्तार, सामाजिक सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउने तथा समावेशी विकासमार्फत सामाजिक र आर्थिक रूपान्तरण गर्ने प्रयासलाई प्राथमिकतामा राखेको स्पष्ट पारेको हो ।
प्रकाशित मिति: २८ कार्तिक २०८३, शनिबार













प्रतिक्रिया