काठमाडौं । भारतको असमस्थित काजीरङ्गा राष्ट्रिय निकुञ्ज नजिकै मिनी बस र कन्टेनर ट्रक एकआपसमा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
शुक्रबार भएको दुर्घटना राष्ट्रिय राजमार्ग–७१५ अन्तर्गत कोहोरा रेन्जको हाथीकुली चिया बगान नजिकै रोङ्गाजन क्षेत्रमा भएको हो।
प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीका सहयोगी पत्रकार दिलीप कुमार शर्माले दुर्घटनामा २६ जनाको मृत्यु भएको जानकारी दिएका छन्। यसअघि घटनास्थल पुगेका असम सरकारका मन्त्री अतुल बोराले कम्तीमा २४ जनाको मृत्यु भएको र ११ जना घाइते भएको बताएका थिए।
समाचार एजेन्सी पीटीआईका अनुसार मृतकमध्ये दुई जना महिला छन्। दुर्घटनामा ज्यान गुमाउने अधिकांश कलेजका विद्यार्थी रहेको बताइएको छ। उनीहरू कक्षा सकिएपछि घर फर्किरहेका थिए।
मन्त्री बोराले दुईमध्ये कुनै एक सवारीसाधन तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हुन सक्ने बताएका छन्। यद्यपि, दुर्घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्नेछ।
घटनापछि असमका मुख्यमन्त्री हिमन्त बिस्वा सरमाले सामाजिक सञ्जालमार्फत घाइतेहरूको तत्काल र प्रभावकारी उपचार सुनिश्चित गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
प्रकाशित मिति: २८ कार्तिक २०८३, शनिबार












प्रतिक्रिया