सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९, बसन्तपुरमा अज्ञात समूहले घरमै सुतिरहेका वृद्ध दम्पतीमाथि इँटा प्रहार गर्दा दुवै जना गम्भीर घाइते भएका छन्।
आक्रमणमा ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती जिब्छी साह घाइते भएका हुन्। गएराति आफ्नै घरमा सुतिरहेको अवस्थामा अज्ञात समूहले उनीहरूको टाउको र अनुहारमा इँटाले प्रहार गरेको बताइएको छ।
किराना पसल सञ्चालन गर्दै आएका साह दम्पतीको हाल प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। स्थानीय रविन्द्र यादवका अनुसार दुवै जनाको अवस्था गम्भीर छ।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान हुन सकेको छैन भने आक्रमणको कारणसमेत खुलेको छैन। हरिपुर्वा नगरपालिका–८ का वडाध्यक्ष रमेश यादवले घटनाबारे जानकारी दिँदै प्रहरीले अनुसन्धान अघि बढाएको बताएका छन्।
घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ। वृद्ध दम्पतीमाथि घरमै भएको आक्रमणपछि स्थानीयवासी त्रसित बनेका छन्।
प्रकाशित मिति: २८ कार्तिक २०८३, शनिबार












प्रतिक्रिया