काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी केन्द्रीय महाधिवेशनका लागि प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ जना प्रतिनिधि चयन गर्ने भएको छ। मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा ४० वर्षमुनिका कम्तीमा एक जना युवाको सहभागिता अनिवार्य गरिएको छ।

पार्टीको व्यवस्थाअनुसार सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्रका सक्रिय सदस्यहरूले महाधिवेशन प्रतिनिधि चयन गर्नेछन्। चयन हुने ९ जनामध्ये ३ जना महिला र एक जना उत्पीडित समुदायबाट हुनुपर्नेछ।

त्यस्तै आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न थप २ जनाको व्यवस्था गरिएको छ।

महाधिवेशनमा युवाको सहभागिता बढाउने उद्देश्यले प्रत्येक प्रदेशसभा क्षेत्रबाट चयन हुने प्रतिनिधिमध्ये कम्तीमा एक जना ४० वर्षमुनिको हुनुपर्ने प्रावधान राखिएको छ।

यसअघि विभिन्न तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू भने स्वतः महाधिवेशन प्रतिनिधि बन्नेछन्। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहका अध्यक्षहरू पदेन प्रतिनिधिका रूपमा सहभागी हुनेछन्।

पदेन प्रतिनिधिबाहेक अन्य प्रतिनिधि सक्रिय सदस्यहरूमध्येबाट छनोट गरिने राप्रपाले जनाएको छ। हिमाल, पहाड र तराई क्षेत्रका लागि पार्टीको विधान तथा निर्देशिकाले तोकेको संख्या र मापदण्डअनुसार प्रतिनिधि चयन हुनेछ।

प्रतिनिधि छनोटका लागि मंसिर ४ देखि १० गतेसम्मको समयसीमा निर्धारण गरिएको छ। उक्त अवधिभित्र योग्य प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि चयन प्रक्रिया सम्पन्न गर्नुपर्नेछ।

प्रकाशित मिति: २८ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com