काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आगामी मंसिरदेखि आफ्नो थ्रीजी (3G) सेवा पूर्ण रूपमा बन्द गर्ने भएको छ। फोरजी (4G) सेवाको व्यापक विस्तारसँगै नेटवर्कको गुणस्तर सुधार, फ्रिक्वेन्सीको प्रभावकारी उपयोग र अत्याधुनिक प्रविधिमा आधारित दूरसञ्चार सेवा विस्तार गर्ने उद्देश्यले कम्पनीले थ्रीजी सेवा विस्थापन गर्न लागेको हो।

एनसेलका अनुसार कम्पनीले हालसम्म विभिन्न चरणमा करिब ३ हजार १३९ थ्रीजी टावरमध्ये ९९२ वटा टावरमा सेवा बन्द गरिसकेको छ। बाँकी करिब २ हजार १५० टावरमा पनि मंसिरको पहिलो सातादेखि चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गर्ने योजना बनाइएको छ।

कम्पनीको योजनाअनुसार पहिलो चरणमा लुम्बिनी र गण्डकी प्रदेशबाट थ्रीजी सेवा बन्द गर्ने प्रक्रिया अघि बढाइनेछ। त्यसपछि बागमती प्रदेश हुँदै मधेश, कोशी र अन्य क्षेत्रमा क्रमशः सेवा विस्थापन गरिनेछ। आगामी पुसको पहिलो साताभित्र देशभर एनसेलको थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने लक्ष्य कम्पनीले लिएको छ।

एनसेलका सक्रिय ग्राहकहरूमध्ये हाल करिब ३ प्रतिशतले मात्र थ्रीजी सेवा प्रयोग गरिरहेको कम्पनीले जनाएको छ। देशको करिब ९५ प्रतिशत जनसङ्ख्यामा फोरजी सेवा विस्तार भइसकेको भए पनि ४ लाख २० हजारभन्दा बढी ग्राहकसँग अझै थ्रीजी सिमकार्ड रहेको कम्पनीको तथ्यांक छ।

थ्रीजी सेवा बन्द भएपछि ग्राहकलाई फोरजी प्रविधिमा सहज रूपमा स्थानान्तरण गर्न एनसेलले निःशुल्क फोरजी सिम उपलब्ध गराउने भएको छ। पुरानो सिमकार्ड प्रयोग गरिरहेका ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक सेवा केन्द्रबाट फोरजी सिम लिन सक्नेछन्। नयाँ सिम लिने ग्राहकले सात दिनसम्म मान्य हुने २ जीबी डेटा पनि निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले ग्राहकलाई फोरजी नेटवर्कमार्फत भ्वाइस ओभर एलटीई (VoLTE) सेवा प्रयोग गर्नसमेत प्रोत्साहित गर्दै आएको छ। यस प्रविधिबाट फोरजी नेटवर्कमै उच्च गुणस्तरको मोबाइल डेटा र स्पष्ट आवाजमा भ्वाइस कल गर्न सकिने एनसेलको भनाइ छ।

थ्रीजी सेवा बन्द भए पनि आधारभूत सञ्चार सेवाबाट ग्राहक वञ्चित नहुने कम्पनीले स्पष्ट पारेको छ। दुर्गम तथा आर्थिक रूपमा कमजोर समुदायका नागरिकको डिजिटल पहुँचलाई ध्यानमा राख्दै टुजी (2G) प्रविधिमार्फत भ्वाइस कल र एसएमएस सेवा भने निरन्तर सञ्चालनमा रहनेछ।

पुरानो प्रविधि विस्थापनपछि उपलब्ध नेटवर्क तथा फ्रिक्वेन्सी स्रोतलाई फोरजी सेवाको क्षमता र गुणस्तर अभिवृद्धिमा केन्द्रित गर्न सकिने कम्पनीको विश्वास छ। यसबाट नेटवर्कको कार्यक्षमता बढ्नुका साथै ग्राहकले थप गुणस्तरीय दूरसञ्चार सेवा प्राप्त गर्ने एनसेलले जनाएको छ।

प्रकाशित मिति: २८ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com