काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी भइरहेका बेला भारतले नेपाल र भारतबीच नयाँ रेल सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। भारतको रेल मन्त्रालयले जनकपुरधामदेखि उत्तर प्रदेशको अयोध्यासम्म साप्ताहिक रेल चलाउन अनुमति दिएको हो।
शनिबार सार्वजनिक निर्णयअनुसार करिब ६०४ किलोमिटर लामो रेलमार्गले जनकपुरधामलाई अयोध्या क्यान्टसँग जोड्नेछ। यसबाट दुई देशबीचको रेल सम्पर्क विस्तार हुनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
माता सीताको जन्मस्थलका रूपमा परिचित जनकपुरधाम र भगवान् रामको जन्मस्थल मानिने अयोध्या जोडिएपछि रामायण परम्परासँग सम्बन्धित तीर्थयात्री तथा पर्यटकलाई आवतजावत सहज हुनेछ।
भारतीय रेलका अनुसार यो सेवा सातामा एकपटक सञ्चालन हुनेछ। रेल शनिबार जनकपुरधामबाट र सोमबार अयोध्या क्यान्टबाट छुट्ने तालिका छ।
यस क्रममा रेलले बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै यात्रा गर्नेछ। जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा यात्रु चढ्ने तथा ओर्लने व्यवस्था रहनेछ।
नयाँ सेवाबाट धार्मिक यात्राका अतिरिक्त शिक्षा, व्यापार र पारिवारिक कामका लागि नेपाल–भारत आवतजावत गर्ने यात्रुलाई पनि सुविधा पुग्ने विश्वास गरिएको छ। रेल सञ्चालनले सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि बढाउनुका साथै होटल, पर्यटन व्यवसाय, स्थानीय व्यापार र हस्तकलासम्बन्धी व्यवसायलाई लाभ पुग्ने अपेक्षा छ।
भारतीय विदेश सचिव विक्रम मिस्रीको हालैको नेपाल भ्रमणका क्रममा पनि यो रेल सेवाबारे छलफल भएको थियो। प्रधानमन्त्री शाहसँगको भेटमा मिस्रीले अयोध्यादेखि जनकपुरधामसम्म सिधा रेल सेवा सञ्चालन गर्ने योजनाबारे जानकारी गराएका थिए।
प्रकाशित मिति: २९ कार्तिक २०८३, आइतबार













प्रतिक्रिया