स्याङ्जा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि कसैले अंकुश लगाउन नसक्ने बताएका छन्। उनले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन्।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै पौडेलले लोकतन्त्रको पक्षमा आवाज उठाउने कांग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाए।

निर्वाचन जित्दैमा कानुन उल्लंघन गर्ने छुट कसैलाई नहुने उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको सम्मान गर्न सरकारलाई आग्रह गरे। कांग्रेसलाई कमजोर बनाएर मुलुकको लोकतन्त्र नै कमजोर पार्ने प्रयास भइरहेको उनको भनाइ थियो।

राजनीतिक विषयलाई अनावश्यक रूपमा कानुनी प्रक्रियासँग जोडेर भ्रम सिर्जना गर्न नहुने बताउँदै पौडेलले मुद्दा दायर हुँदैमा पार्टी वा नेतृत्व कमजोर नहुने जिकिर गरे।

वर्तमान सरकार नागरिकका समस्या समाधान गर्न जनस्तरसम्म पुग्न नसकेको आरोप लगाउँदै उनले संविधान संशोधन, भोटेकोसी बाढी प्रभावितको समस्या र सुकुम्बासी समस्या समाधानमा सरकारको अपरिपक्वता देखिएको टिप्पणी गरे। सरकारप्रति नागरिकको विश्वास क्रमशः घट्दै गएको उनको दाबी थियो।

निर्वाचनमा पराजय भोगे पनि कांग्रेसले अघि सारेका विचारको महत्त्व कायम रहने उल्लेख गर्दै पौडेलले नेपाली कांग्रेसलाई ‘राजनीतिको विश्वविद्यालय’को संज्ञा दिए।

उनले आगामी मंसिर १ गतेदेखि स्थानीय तह निर्वाचनलाई लक्षित गरी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्न लागिएको जानकारीसमेत दिए।

प्रकाशित मिति: २९ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com