काठमाडौँ । कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ ।
नोभेम्बर १९ देखि २९ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले सन्दीपको नेतृत्वमा टोली सार्वजनिक गरेको हो ।
टोलीमा सन्दीपसँगै बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिशेष गौतम, रासिद खान, लोकेश बम र नन्दन यादव छन् ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन् ।
प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले आफ्नो ‘ए’ टोली सहभागी गराउनेछन् । नेपाल, यूएई र हङकङले भने राष्ट्रिय सिनियर टोलीसमेत सहभागी गराउन पाउने व्यवस्था छ । यूएईले यसअघि नै दोस्रो रोजाइको टोली घोषणा गरिसकेको छ ।
नेपालले नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ ।
दुवै समूहबाट शीर्ष दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल नोभेम्बर २९ मा हुनेछ ।
नेपाल एसीसी प्रिमियर कपको उपाधि जित्दै राइजिङ स्टार्स एसिया कपसँगै एसिया कपका लागि पनि छनोट भएको थियो । प्रिमियर कपमा दोस्रो स्थान हासिल गरेको यूएई र तेस्रो भएको हङकङले पनि प्रतियोगितामा स्थान बनाएका हुन् ।
प्रकाशित मिति: २९ कार्तिक २०८३, आइतबार













प्रतिक्रिया