काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व आज सम्पन्न भएको छ। गत शनिबार पञ्चमी तिथिका दिन मध्यरातपूर्वदेखि निराहार व्रत गरेका व्रतालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन्।

महोत्तरीसहितका तराई मधेशमा सूर्योदय हुनासाथ व्रतालुले सूर्यदेवलाई अर्घ्य अर्पण गरेका हुन्। यसअघि व्रतालुले निराहार व्रतकै बीच आइतबार साँझ षष्ठी तिथिका दिन अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिएका थिए।

अहिले सूर्य उपासनाको पर्व सम्पन्न भएसँगै व्रतालु छठी घाटबाट घर फर्केका छन्। यसअघि चौथीका दिन पवित्र स्नान गरी चोखोनीतो खाएर व्रत सङ्कल्प गरेर ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालुले पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए। कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म चार दिन यो पर्व विभिन्न विधि साथ मनाइन्छ।

अस्ताउँदा सूर्यदेवलाई पहिलो अर्घ्य दिइने षष्ठी तिथिको साँझको विधिलाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ। यसैगरी, सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिएर पर्व सम्पन्न गरिने दिनलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने गरिएको छ।

पर्व सम्पन्न गरेर घर फर्केपछि व्रतालुले दीनदुःखी र आशामुखीहरुलाई अन्न, वस्त्र दान गरी प्रसाद ग्रहण गर्छन्। यससँगै पर्वका प्रसाद खाने ख्वाउने क्रम सुरु हुन्छ। यस पर्वमा ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार तथा केरा र अन्य फलफूल एवं माटोका भाँडामा जमाइएको दही सूर्यदेवलाई चढाइएका बस्तु प्रसाद हुन्छन्। मिथिलामा छठको प्रसाद खाने ख्वाउने क्रम महिना दिनसम्म चलीरहन्छ। खासगरी छोरीचेली, फुपू, मित र अन्य इष्टमित्रकहाँ छठको प्रसादको ‘भार’ (सोली) नै पठाउने मैथिल चलन छ।

छठ व्रतको प्रभावले सुखसन्तोष प्राप्त हुने र रोगव्याध नलाग्ने जनविश्वास छ।

प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This