काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले व्यक्तिपूजाको प्रवृत्तिले सत्यको खोजी र मानवीय विवेकलाई कमजोर बनाउने टिप्पणी गरेका छन्। मानिसको महानताको सम्मान गर्नुपर्नेमा उसैलाई भगवान् मान्ने प्रवृत्ति बढ्नु चिन्ताजनक रहेको उनको भनाइ छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले मानिस भगवान् बन्न सक्छ कि सक्दैन भन्ने बहसको विषय भए पनि महान् बन्न सक्ने कुरा सत्य भएको बताएका छन्।
आफूलाई भगवान् ठान्ने र अरूले भगवान् बनाइदिने प्रवृत्ति समाजमा कहिल्यै कम नहुने उल्लेख गर्दै उनले यस्तो सोच राख्नेहरूबीच नै द्वन्द्व हुने र फेरि शान्तिको कामना गर्ने अवस्थालाई विडम्बनाका रूपमा व्याख्या गरेका छन्।
‘मानिस भगवान् बन्न सक्छ कि सक्दैन, बहसको विषय बनेको छ। तर मानिस महान् बन्न सक्छ, यो सत्य हो। आफूलाई भगवान् ठान्ने र अरूले भगवान् बनाइदिनेहरूको लामको कहिल्यै कमी हुँदैन,’ उनले लेखेका छन्।
भण्डारीले व्यक्तिपूजाले सत्यलाई ओझेलमा पार्ने, विवेक कमजोर बनाउने तथा ध्यान र चिन्तनको बाटो अवरुद्ध गर्ने बताएका छन्।
मानिसको महानताको सम्मान गर्नुको सट्टा उसैलाई भगवान् ठान्न थालिए सत्यको पहिचान कसरी गर्ने र भगवान्को वास्तविक स्वरूप कसरी बुझ्ने भन्ने प्रश्नसमेत उनले उठाएका छन्।
प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार















प्रतिक्रिया