बझाङ । बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार टुमेडा गाउँबाट बुंगल नगरपालिका–११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० फिट तल भिरमा खसेको थियो ।
दुर्घटनामा बुंगल नगरपालिका–१० की करिब ३५ देखि ४० वर्षीया राजमति महरा, १५ देखि १६ वर्षीया तारा महरा र ५ देखि ६ वर्षीया डल्ली महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । दुर्घटनापछि एक बालक भने बेपत्ता छन् ।
प्रारम्भिक अनुमानअनुसार अटोमा चालकसहित चारदेखि पाँच जना सवार थिए । दुर्घटनामा परेको अटोका चालक तथा अन्य यात्रुको अवस्थाबारे भने थप विवरण प्राप्त हुन सकेको छैन ।
घटनाको सूचना पाएलगत्तै अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तम सिंह बोहराको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी पोस्टबाट घटनास्थल पुग्न करिब एक घण्टा पैदल हिँड्नुपर्ने बताइएको छ ।
बेपत्ता बालकको खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको कमान्डमा थप टोली परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी टेक जोराका अनुसार बेपत्ता बालकको खोजी कार्य जारी छ । दुर्घटनाको कारण र घटनाको विस्तृत विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार















प्रतिक्रिया