काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिचौलिया भनिएका इनम सापकोटामाथि भइरहेको अनुसन्धानको प्रक्रियामाथि प्रश्न उठाउँदै त्यसलाई रहस्यमय र अपारदर्शी भएको टिप्पणी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सरकारका गतिविधि अन्ततः इनम सापकोटा प्रकरणमा आएर जोडिएको बताएका हुन् । उनले यस प्रकरणका पछाडि रहेका विभिन्न पक्ष र सम्बन्धबारे अझै धेरै तथ्य सार्वजनिक हुन बाँकी रहेको दाबी गरे ।

पोखरेलका अनुसार सापकोटा प्रधानमन्त्री बालेन शाहलाई झापाबाट उम्मेदवार बनाउँदा उपयुक्त हुने वा नहुने विषयमा गरिएको सर्वेक्षणदेखि चुनावी अभियानसम्म संलग्न रहेको चर्चा बाहिर आएको छ । प्रधानमन्त्री बनेपछि सरकारलाई सफल बनाउने उद्देश्यले गठन गरिएको भनिएको कोर टिममा समेत उनको भूमिका रहेको भन्ने विवरण सार्वजनिक भएको उनले बताए ।

त्यस्तै, प्रधानमन्त्रीका सल्लाहकारले प्रहरी नियन्त्रणमा लिएको मोबाइल फोन दुईदेखि तीन दिनसम्म आफूसँग राखेको विषय पनि सार्वजनिक भएको उल्लेख गर्दै पोखरेलले यसले अनुसन्धानको निष्पक्षतामाथि थप प्रश्न खडा गरेको बताए ।

सरकारले सापकोटालाई नियन्त्रणमा लिए पनि अनुसन्धान प्रक्रिया पारदर्शी र विश्वसनीय नदेखिएको उनको टिप्पणी थियो ।

महासचिव पोखरेलले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति समेत असन्तुष्टि जनाउँदै सरकार सञ्चालनको तौरतरिकामाथि आलोचना गरेका छन् ।

उनले सापकोटा प्रकरणमा जोडिएका सबै विषयको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने आशय व्यक्त गरेका छन् ।

प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This