काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकमको दुरुपयोग नहुने बताएका छन् । उनले कोषको रकम विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्निर्माणका काममा पारदर्शी ढंगले खर्च भइरहेको स्पष्ट पारेका छन् ।

सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषका लागि उपलब्ध गराएको सहयोग रकम ग्रहण गर्दै मन्त्री पुनले प्राप्त सहयोगको सदुपयोग हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनका अनुसार बाढीपहिरोबाट क्षतिग्रस्त सडक, पुल, विद्यालय तथा अस्पतालको पुनर्निर्माण र प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन कोषको रकम परिचालन भइरहेको छ ।

विभिन्न संघसंस्था तथा विदेशी निकायले गरेको प्रारम्भिक मूल्यांकनलाई उद्धृत गर्दै मन्त्री पुनले पछिल्लो बाढीपहिरोबाट देशभर करिब तीनदेखि चार खर्ब रुपैयाँ बराबरको क्षति भएको बताए । क्षतिको तुलनामा उद्धार कोषमा जम्मा भएको रकम पर्याप्त नरहेको उल्लेख गर्दै उनले पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्ने धारणा राखे ।

मन्त्री पुनले भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएपछि उद्धार तथा राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको व्यापक प्रयोग गर्नुपरेको जानकारी दिए । हेलिकप्टरमार्फत उद्धार तथा राहत कार्य सञ्चालन गर्दा मात्रै ३० देखि ४० करोड रुपैयाँभन्दा बढी खर्च भएको उनको भनाइ छ ।

यसैबीच, नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि एक करोड १७ लाख ६० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

विदेशमा रहेका नेपाली समुदाय तथा विभिन्न संघसंस्थाबाट प्राप्त सहयोग विपद् प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा महत्त्वपूर्ण हुने मन्त्री पुनले बताएका छन् ।

प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This