काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार विधि र प्रक्रियाभन्दा बाहिर गएर मनोमानी ढंगले सञ्चालन भइरहेको आरोप लगाएका छन्। बाराको सिमरामा सोमबार आयोजित पार्टी प्रवेश तथा भेलालाई सम्बोधन गर्दै उनले सरकारका निर्णयहरू सनक र लहडका आधारमा भइरहेको टिप्पणी गरेका हुन्।

सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको छ कि छैन भन्ने प्रश्न उठाउँदै थापाले भने, ‘यो सरकारले ढंगले काम गरिरहेको छ? विधिमा काम गरिरहेको छ? छैन, यो सरकार सनकका भरमा चलिरहेको छ। लहडका भरमा चलेको छ। सनक चलेकै भरमा निर्णय भइरहेको छ।’

संसदीय व्यवस्थामा सरकार र प्रतिपक्षको आ–आफ्नै भूमिका हुने उल्लेख गर्दै थापाले नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षका रूपमा आफ्नो भूमिका निर्वाह गरिरहेको बताए। सरकारका गलत निर्णयमाथि प्रश्न उठाउँदा आफूहरूविरुद्ध षड्यन्त्र भइरहेको उनको दाबी थियो।

यस्ता गतिविधिबाट कांग्रेस पछि नहट्ने बताउँदै उनले सत्य र न्यायको पक्षमा पार्टी निरन्तर उभिने जिकिर गरे। षड्यन्त्रको सामना गर्न कांग्रेससँग पर्याप्त शक्ति रहेको उनको भनाइ थियो।

सभापति थापाले पार्टीको आधिकारिकतासम्बन्धी विषयलाई लिएर बाहिर आइरहेका विभिन्न चर्चाको पछि नलाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे।

‘अहिले आइरहेका त्यस्ता सानातिना र झिँगे कुराको पछि नलाग्नुस्। यस्तो षड्यन्त्रले हामीलाई गलाउन सक्दैन। नेपाली कांग्रेस र तपाईंहरूको सभापतिलाई यस्ता कुराले विचलित पनि बनाउन सक्दैन,’ उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच वर्ष सरकार सञ्चालन गर्ने जनादेश पाएको उल्लेख गर्दै थापाले कांग्रेसले रास्वपाको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने स्पष्ट पारे। तर, सरकारका कामकारबाही र निर्णयमाथि प्रश्न उठाउने जिम्मेवारीबाट भने कांग्रेस पछि नहट्ने उनले बताए।

थापाले वर्तमान सरकारलाई इतिहासकै सबैभन्दा उपयुक्त प्रतिपक्ष पाएको दाबी गर्दै अनावश्यक विवाद र गतिविधिमा अल्झिनुभन्दा जनताको आवश्यकता सम्बोधन गर्न सुझाव दिए।

प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This