काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सम्भावित आन्दोलनका लागि सधैँ तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । उनले राजनीतिक परिस्थिति जुनसुकै बेला बदलिन सक्ने भन्दै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

मंगलबार अखिल नेपाल किसान महासंघको केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले आन्दोलनका लागि लामो समयदेखि तयारी गरिरहनैपर्छ भन्ने नभएको उल्लेख गरे । परिस्थिति असह्य भएपछि आन्दोलन तत्कालै उठ्न सक्ने उनको भनाइ थियो ।

उनले नेता–कार्यकर्तालाई आन्दोलनको मानसिकतासहित सक्रिय रहन आग्रह गर्दै कुनै पनि बेला आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने बताए ।

ओलीले राजनीतिक परिवर्तनका विभिन्न स्वरूपको चर्चा गर्दै कतै विद्रोह, कतै निर्वाचन त कतै उपद्रवका माध्यमबाट पनि उलटफेर हुने गरेको टिप्पणी गरे ।

उनले एमालेले विगतदेखि नै विभिन्न चुनौती र कठिनाइको सामना गर्दै आएको उल्लेख गरे । सबै शक्ति मिलेर पार्टीलाई कमजोर बनाउने प्रयास गरे पनि एमाले आफ्नो स्थानबाट पछि नहटेको उनको दाबी थियो ।

आफूहरूलाई कसैले बहिष्कार गरे वा नगरे पनि त्यसले कुनै फरक नपार्ने बताउँदै ओलीले एमाले देशको सबैभन्दा मजबुत, देशभक्त र व्यापक जनाधार भएको शक्ति रहेको जिकिर गरे ।

उनले एमालेको संगठनात्मक शक्ति र राजनीतिक सामर्थ्यलाई कमजोर आँकलन नगर्न पनि संकेत गरेका छन् ।

प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com