काठमाडौं । अमेरिकी यौन अपराधी जेफरी एपस्टिनको जेलभित्र भएको मृत्युबारे नयाँ दाबी सार्वजनिक भएको छ। फरेन्सिक विशेषज्ञ प्रोफेसर माइकल फ्रिम्यानले एपस्टिनले आत्महत्या नगरेको र उनको हत्या भएको हुन सक्ने निष्कर्ष निकालेका छन्।
बीबीसी न्युजनाइटलाई दिएको अन्तर्वार्तामा फ्रिम्यानले न्युयोर्क सहरका मेडिकल एक्जामिनरका फाइल तथा पोस्टमार्टमसम्बन्धी अभिलेखहरूको अध्ययनपछि यस्तो निष्कर्षमा पुगेको बताएका हुन्।
उनका अनुसार एपस्टिनको घाँटी पछाडिबाट थिचेर हत्या गरिएको हुन सक्ने देखिन्छ। फ्रिम्यानले सोमबार साँझ लन्डनमा आफ्नो अनुसन्धानको निष्कर्ष सार्वजनिक गरेका थिए। उनले अध्ययनका क्रममा प्रयोग गरेका सम्बन्धित अभिलेखसमेत सार्वजनिक गरेका छन्।
तर सन् २०१९ मा एपस्टिनको पोस्टमार्टम गर्ने मेडिकल परीक्षकले उनको मृत्यु आत्महत्याका कारण भएको निष्कर्ष निकालेकी थिइन्। पोस्टमार्टम प्रतिवेदनमा शरीरमा भेटिएका चोटका निशान आत्महत्यासँग मेल खाने र हत्याको घटनामा सामान्यतया देखिने प्रतिरोधका क्रममा लागेका घाउको प्रमाण नभेटिएको उल्लेख थियो।
त्यसबेला मेडिकल परीक्षक डा. बारबरा स्याम्पसनले आफ्नो निष्कर्षको बचाउ गर्दै मृत्युको कारण र प्रकृतिबारे गरिएको निर्धारणप्रति आफू दृढ रहेको बताएकी थिइन्।
एपस्टिन सन् २०१९ अगस्ट १० मा न्युयोर्कस्थित जेलमा मृत फेला परेका थिए। त्यतिबेला उनी यौन तस्करीसम्बन्धी आरोपमा मुद्दाको सुनुवाइ पर्खिरहेका थिए।
फरेन्सिक विज्ञानका क्षेत्रमा परिचित विशेषज्ञ फ्रिम्यानले अमेरिकामा प्रहरी हिरासतमा भएका विभिन्न चर्चित मृत्युका घटनामा महान्यायाधिवक्ताका लागि मृत्युको कारणसम्बन्धी विशेषज्ञका रूपमा काम गरिसकेका छन्। उनले अध्ययन गरेका घटनामध्ये जर्ज फ्लोयडको मृत्युसम्बन्धी मुद्दा पनि एक हो।
प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार













प्रतिक्रिया