काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) को नाम, लोगो र ब्रान्ड प्रयोग गरेर जापानका विभिन्न बजारमा नक्कली घिउ बिक्री भइरहेको छ । डिडिसीले जापान र संयुक्त अरब इमिरेट्स (यूएई) मा सम्बन्धित अवधिमा घिउ आपूर्ति नगरेको जनाएको छ । तर, यो अवस्थामा ती देशका बजारमा डिडिसीको नाममा घिउ कसरी पुग्यो भन्ने बिषय गम्भीर अनुसन्धानको बिषय बनेको छ ।
यस प्रकरणमा जापानमा व्यवसाय सञ्चालन गर्दै आएको पूर्ण ट्रेडिङ प्रालि र त्यसका सञ्चालक टीका श्रेष्ठमाथि गम्भीर प्रश्न उठेको छ । उक्त कम्पनीले जापानका विभिन्न बजारमा डिडिसीको नाममा घिउ बिक्री तथा वितरण गर्दै आएको आरोप छ । कम्पनीको वेबसाइट र फेसबुक पेजमा समेत डिडिसीको नाममा घिउ बिक्री तथा आपूर्तिसम्बन्धी प्रचार सामग्री सार्वजनिक छन्।
पूर्ण ट्रेडिङ प्रालिविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी परेपछि कम्पनीको वेबसाइट तथा फेसबुक पेजबाट डिडिसीको नाममा घिउ बिक्रीसम्बन्धी केही प्रचार सामग्री र नेपालबाट जापान लैजान प्रतिबन्धित वा अनुमति आवश्यक पर्ने भनिएका खाद्य सामग्रीका पोस्टर हटाइएको छ ।
यस अघि डिडिसीभित्रको आर्थिक अनियमितता र संगठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना कर्मचारी पक्राउ परिसकेका छन् । त्यसपछि अनुसन्धान थप विस्तार गर्दै २७ कात्तिक २०८३ मा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मा पनि पक्राउ परेका छन् ।
डिडिसीलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक नोक्सानी पु¥याई गैरकानुनी लाभ लिएको आरोपमा उनीहरुमाथि अनुसन्धान भइरहेको छ । विगतमा डिडिसीका अधिकारी र बिचौलियाको मिलेमतोमा नक्कली लेबल तथा डिडिसीको नाम प्रयोग गरेर विदेशमा घिउ पठाइएको आशंका छ ।
पूर्ण ट्रेडिङको वेबसाइटमा नेपालबाट जापान पठाइने विभिन्न खाद्य सामग्रीका रूपमा अचार, सुकुटी तथा मासुजन्य उत्पादनसम्बन्धी सामग्रीसमेत सार्वजनिक गरिएको छ ।
गैरकानुनी रूपमा सामान विदेश पठाइएको अवस्थामा भन्सार, खाद्य गुणस्तर परीक्षण, पशु क्वारेन्टाइन र अन्य नियामक निकायलाई समेत अनुसन्धानको दायरामा ल्याउन आवश्यक देखिन्छ ।
राजनीतिक संलग्नताको गन्ध
डिडिसीको नाम र लोगो दुरुपयोग गरेर कारोबार भइरहेको भनिएको विषय सार्वजनिक भइरहँदा राजनीतिक संरक्षणको आशंकासमेत उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बन्धित एक सांसदले जापानमा रहेका कारोबारीलाई संरक्षण गरेको आशंका छ ।
प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार













प्रतिक्रिया