काठमाडौं । उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाऊन् भन्ने उद्देश्यले सरकारले पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयनमा ल्याएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा मासु परीक्षण गरी स्वस्थ मासुमा छाप लगाउने अभियान सुरु गरेको हो ।
मन्त्रालयका अनुसार २०८३ मंसिर १ गतेदेखि उपत्यकाका विभिन्न स्थानमा ऐन कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ । पहिलो चरणमा काठमाडौं उपत्यकाबाट कुखुरा, राँगा र खसीको मासु परीक्षण गरी उपभोगका लागि योग्य मासुमा आधिकारिक छाप लगाउन थालिएको छ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ संशोधन गरी कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
मन्त्री चौधरीले मासुको स्वच्छता र गुणस्तर खाद्य पदार्थसँग मात्रै सम्बन्धित विषय नभई नागरिकको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएको बताइन् ।
नागरिकले उपभोग गर्ने मासु सुरक्षित, स्वच्छ र गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै उनले ऐन कार्यान्वयनलाई सुरुवाती अभियानमा मात्र सीमित नराखी निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।
मन्त्रालयले ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहलाई नियमित अनुगमन तथा निरीक्षणको जिम्मेवारीसमेत दिएको छ ।
यस व्यवस्थाले बजारमा बिक्री हुने मासुको गुणस्तर नियन्त्रण गर्न, अस्वस्थ मासुको बिक्री वितरण रोक्न र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
काठमाडौं उपत्यकाबाट सुरु गरिएको यो अभियानलाई निरन्तरता दिँदै मासुजन्य खाद्य पदार्थको स्वच्छता र गुणस्तर कायम गर्ने मन्त्रालयको लक्ष्य रहेको छ ।
प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार













प्रतिक्रिया