काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जित निकाल्दै लुम्बिनीले लगातार दोस्रो पटक उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको हो ।
सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा निरोसन डिकवेल्लाले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ५९ रन बनाए । उनले ३७ बलको सामना गर्दै सात चौका र दुई छक्का प्रहार गरे ।
कप्तान रोहित पौडेलले २१ रनको योगदान दिए । उनले डिकवेल्लासँग तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । रोहित २८ बलमा एक चौका प्रहार गर्दै थरिन्दु रत्नायकेको बलमा अनिल खरेलबाट क्याच आउट भए । दिलीप नाथ १० रनमा अविजित रहे ।
लुम्बिनीका ओपनर डार्सी सर्ट खाता नखोल्दै स्कट कुग्लेजिनको बलमा बोल्ड भए भने आशिफ शेख चार रनमा आउट भए ।
सुदूरपश्चिमका लागि थरिन्दु रत्नायकेले दुई विकेट लिए । स्कट कुग्लेजिन र हेमन्त धामीले समान एक विकेट हात पारे ।
एलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन् । यी दुई टोलीबीचको खेल बुधबार हुनेछ ।
यस संस्करणमा लुम्बिनीले सुदूरपश्चिमलाई दोस्रो पटक पराजित गरेको हो । यसअघि प्रतियोगिताको उद्घाटन खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले हराएको थियो ।
प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार












प्रतिक्रिया