काठमाडौं । चर्चित ज्योतिष रुद्रनाथ अधिकारीलाई वन्यजन्तुको अखेटोपहरा कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो । उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सोही पत्रका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउपछि उनलाई डिभिजन वन कार्यालय काठमाडौं पेश गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

‘दुर्लभ वन्यजन्तुको अखेटोपहरा कारोबारमा संलग्न भएको अभियोगमा रुद«नाथ अधिकारी पक्राउ परेका छन् । थप अनुसन्धानका लागि उनलाई डिभिजन वन कार्यालय  पठाइएको छ । थप अनुसन्धान उतैबाट होला,’ एसपी कोइरालाले भने ।

डिभिजन वन कार्यालय काठमाडौंको अनुरोधपछि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले गत २७ कात्तिकमै पक्राउ पुर्जी जारी गरेको थियो । तर, उनी फरार रहँदै आएका थिए ।

प्रहरीले गत २१ कात्तिकमा ठमेलस्थित पद्मा संग्रौलाले सञ्चालन गरेको होटल ‘हेल्लो हाउस’बाट दुर्लभ वन्यजन्तुको अखेटोपहरा बरामद गरेको थियो । घटनमा संलग्न भएको अभियोगमा प्रहरीले संग्रोलालाई त्यही दिन पक्राउ गरेको थियो ।

उनी अहिले प्रहरी हिरासतमा छन् । फसाउने नियतले अखेटोपहरा होटलमा ल्याएर राखेको बयान पक्राउ संग्रौलाले दिएपछि अधिकारीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी भएलगत्तै वनले पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) लगायतका प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो ।

रुद्रनाथ चर्चित ज्योतिष हुन् । उनले विभिन्न टेलिभिजन तथा युट्यूबमार्फत सर्वसाधरणको कर्म र भाग्य सम्बन्धमा भविश्यवाणी गर्दै आएका छन् ।

 

प्रकाशित मिति: १७ पुस २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com