काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष के पी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच तीन बुँदे सहमति भएपछि प्रदेशहरूको सत्ता राजनीति गर्माएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेश नेकपाले र कोसी, बागमती र लुम्बिनी एमालेले नेतृत्व गर्ने सहमति भएपछि खासगरी एमालेभित्र शक्ति सङ्घर्ष उत्कर्षमा पुगेको छ ।

पार्टी सचिवालयमा प्रष्ट अल्पमतमा परेका ओली तीनै प्रदेशमा आफू नजिकका मूख्यमन्त्री बनाउने कसरतमा लागे । कोसीमा वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाएर तिलकुमार मेह्याङ्बोलाई बनाउन भगिरथ प्रयत्न गरे तर असफल भए । अब ओलीले पार्टी नेतृत्व छोड्नुपर्छ भन्ने अडान राख्दै आएका पार्टी सचिव हिक्मत कार्कीकै निरन्तरता कोसी प्रदेशमा हुने भएको छ ।

लुम्बिनी प्रदेशमा पार्टी पुनर्गठन पक्षधर शंकर-बिष्णु समूहका चेतनारायण आचार्यलाई हटाएर लीला गिरीलाई मुख्यमन्त्री बनाउन चाहनन्थे अध्यक्ष ओली । तर उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको दबाब उनले थेग्न सकेनन् । ‘कोसी र बागमतीमा जस्तो यो प्रदेशमा मुख्यमन्त्रीविरूध्द हस्ताक्षर सङ्कलन नै गर्ने आँट त ओली पक्षले गर्न सकेन,तर मुख्यमन्त्री फेर्ने ठूलै दबाव आएको थियो।’ नाम नबताउने सर्तमा लुम्बिनी प्रदेशका एक एमाले सांसदले भने।

यता एमालेको भागमा परेको बागमती प्रदेशमा सर्वसम्मत रूपमा चुनिएका ओली निकट संसदीय दलका नेता जगन्नाथ थपलियालाई दलको नेताबाट हटाउन पार्टी बरीयतामा सबभन्दा कनिष्ट किरण थापाले हस्ताक्षर अभियानमात्र चलाएनन्, पार्टीका बागमती ईन्चार्ज महेश बस्नेतमार्फत् ‘किरणले भए राप्रपाको समर्थन लिन्छन्, जेएनले सक्दैनन्’ भन्ने कुरा के पीलाई पुर्‍याइरहे ।

भक्तपुर २(२)बाट निर्वाचित थापा ०७४ को स्थानीय निर्वाचनमा सुनपा ८ को वडाध्यक्षको टिकट दिने पक्का भएपछि राप्रपाबाट एमालेमा प्रवेश गरेका हुन् । पुरानो चिनजानको आधारमा महेश बस्नेत र किरण थापाले प्रदेशसभा संसदीय दलका नेता उद्दव थापा, राजु विष्ट, नुरज बज्राचार्यलगायतका ६ जना सांसदलाई ओली निवास गुन्डुमा पुर्‍याएका थिए । ‘त्यो दिन खास के कुरा भएको थियो भन्ने हाम्रो प्रश्नमा त्यो दिन ओली भेट्न पुगेका सांसदले नाम नलेखिदिने सर्तमा भने, ‘किरणजीले भक्तपुरको भाटभटेनी नजिकैको एक रेस्टुँरामा डिनरको लागि बोलाउनु भएको थियो। खानपिन गरिसकेपछि एकपटक बालाई भेट्न गुन्डु जाऔं भन्ने किरणजीको प्रस्ताव मानेर हामी त्यहाँ पुगेका हौं। पार्टीले संस्थागत निर्णय के गर्छ थाहा छैन, तपाईंले किरणजीलाई मुख्यमन्त्रीमा अगाडि सारे हामी खुसी नै हुन्छौं। उहाँ हाम्रै मान्छे हो नि भनेर हाँसो गरिएको थियो, त्यत्ति हो।’

त्यसपछि ओलीलाई ‘ओलीकुटी’ बनाइदिने, महेश बस्नेतलाई नयाँ घर बनाइदिने आश्वासन दिएका किरण थापालाई मुख्यमन्त्री बनाउन ओली सहमत भएको बताइन्छ। जस्तोसुकै परिस्थितिमा पनि वर्षौंदेखि ओलीनिकट रहेर काम गरेका जेएन थपलियालाई दलको नेताबाट हटाउन गुन्डुले ठूलै कसरत गरेको जानकारहरू बताउँछन् । ओली र महेशले जेएनलाई गुन्डुमा बोलाएर पाँच घन्टा संसदीय दलको नेताबाट राजिनामा दिन असक्षमताको आरोपयुक्त दबाब दिएपछि प्रतिवाद गर्ने क्रममा वेहोस भएर ढलेका जेएन थपलिया करिब एक हप्तादेखि बीर अस्पतालमा उपचाररत छन् ।

जेएनको अवस्था बुझ्न बीर अस्पतालको नयाँ बवनको ३०१ नम्बर कोठामा पुग्दा उनी कामज्वरो नियन्त्रणको लागि कृत्रिम अक्सिजन दिएको अवस्थामा भेटिए। कामज्वरो मथ्थर भएपछि र अक्सिजन मास्क खोलेपछि हामीले सोध्यौं, ‘ ढल्ने नै अवस्थाचाहिँ कसरी आयो?’ उनले बेडबाट नउठी यति भने, ‘ किरणजीले पार्टी अध्यक्षलाई म भए राप्रपाको समर्थन तुरून्त ल्याउँछु, जेएनले ल्याउन सक्नुहुन्न भनेर भ्रममा पार्नुभएको रहेछ । नेतृत्व यस्तो भ्रमजालमा फस्नुहुन्न भनेर प्रतिवाद गर्दै थिएँ। त्यही बेला।’

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com