काठमाडौं। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री गोविन्दराज जोशीले अब थप जेल बस्न नपर्ने भएको छ। विशेष अदालतले ज्येष्ठ नागरिकलाई दिइने कैद छुट र अनुसन्धानका क्रममा हिरासतमा बिताएको समयलाई आधार मान्दै उनको बाँकी कैद सजाय भुक्तान भइसकेको ठहर गरेको हो।
सर्वोच्च अदालतले जोशीलाई ९ महिना कैद र ६९ लाख २६ हजार २३८ रुपैयाँ जरिवाना तोकेको थियो। तर, ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कानुनले दिने ७५ प्रतिशत कैद छुट र यसअघि अनुसन्धानका क्रममा ३ महिना १७ दिन हिरासतमा बसेको अवधिलाई गणना गर्दा उनको कैद सजाय पूरा भएको अदालतको बहुमत राय छ।
न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाले कारागार प्रवेश नगरी पनि कैद छुटको सुविधा माग्न सकिने राय दिएका थिए। अर्का न्यायाधीश हेमन्त रावलले भने कैद छुटका लागि पहिले कारागारमा बसेको हुनुपर्ने फरक राय दिएका थिए।
बहुमतको राय कायम भएपछि जोशीले थप जेल सजाय भोग्न नपर्ने भएको हो। जोशीविरुद्ध गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा २०६० सालमा मुद्दा दायर भएको थियो।
प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार













प्रतिक्रिया