काठमाडौं । भिजिट भिसा प्रकरणमा अध्यागमन विभागका तत्कालीन सहसचिव तीर्थराज भट्टराईसहित सात जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ सुरु भएको छ।

भट्टराईसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्याल, विभिन्न ट्राभल्सका सञ्चालक तथा बिचौलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा न्यायाधीशद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ।

अख्तियारले मुख्य प्रतिवादी बनाएका तत्कालीन सहसचिव भट्टराईविरुद्ध ७९ लाख ८० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना तथा ६ देखि ८ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ। कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका कारण उनलाई थप तीन वर्ष कैद सजाय हुनुपर्ने अख्तियारको माग छ।

त्यस्तै, तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्यालविरुद्ध ८ लाख रुपैयाँ बिगो, सोही बराबर जरिवाना र २ देखि ४ वर्षसम्म कैद सजायको मागदाबी गरिएको छ।

अख्तियारले मतियारका रूपमा ग्रिनलाइन होलिडेज ट्राभलका प्रमुख बालकृष्ण खड्का र फेमिली होलिडेज ट्राभल्सका सञ्चालक राम खड्काविरुद्ध जनही ३० लाख २० हजार रुपैयाँ बिगो कायम गरेको छ। उनीहरूबाट बिगो बराबर जरिवाना असुल गरी ४ देखि ६ वर्षसम्म कैद सजाय हुनुपर्ने मागदाबी गरिएको छ।

फेमिली होलिडेज ट्राभल्सका सञ्चालक दीपक भण्डारीविरुद्ध १० लाख ६० हजार रुपैयाँ बिगो, सोही बराबर जरिवाना र २ देखि ४ वर्षसम्म कैद सजायको माग गरिएको छ।

यसैगरी, बिचौलियाका रूपमा प्रतिवादी बनाइएका कविता पौडेल र खेमप्रसाद सुवेदीविरुद्ध जनही ७९ लाख ८० हजार रुपैयाँ बिगो कायम गरिएको छ। उनीहरूलाई बिगो बराबर जरिवाना तथा ६ देखि ८ वर्षसम्म कैद सजाय हुनुपर्ने अख्तियारको मागदाबी छ।

सम्पत्ति शुद्धीकरणको आरोपसमेत

अख्तियारले भिजिट भिसा प्रकरणबाट गैरकानुनी रूपमा प्राप्त रकम शुद्धीकरण गरेको आरोपमा तत्कालीन सहसचिव भट्टराईसहित कविता पौडेल र खेमप्रसाद सुवेदीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत दायर गरेको छ।

उनीहरूविरुद्ध जनही १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना तथा ८ देखि १० वर्षसम्म कैद सजायको मागदाबी गरिएको छ।

अख्तियारका अनुसार भट्टराईले गैरकानुनी रूपमा आर्जन गरेको रकम पौडेल र सुवेदीमार्फत परिचालन गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप छ।

भिजिट भिसा प्रकरणमा संलग्न गिरोहबाट रकम लिई गैरकानुनी आर्थिक लाभ लिएको तथा उक्त रकम विभिन्न माध्यमबाट परिचालन गरेको आरोपमा अख्तियारले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणका छुट्टाछुट्टै अभियोग दायर गरेको हो।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com