काठमाडौं । सन् १८१६ मा नेपाल र तत्कालीन ब्रिटिस भारतबीच भएको सुगौली सन्धिको सक्कल प्रति कहाँ छ भन्ने विषयमा नेपालमा उठेको प्रश्नबारे भारतले द्विपक्षीय संयन्त्रमार्फत छलफल गर्न सकिने जनाएको छ।
मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवाललाई सञ्चारकर्मीले नेपालका परराष्ट्रमन्त्रीले सुगौली सन्धिको सक्कल प्रति सरकारसँग भए–नभएको यकिन जानकारी नरहेको बताएका विषयमा प्रश्न गरेका थिए।
जवाफमा प्रवक्ता जयसवालले नेपाल र भारतबीचको सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै केही विषयमा दुई देशबीच मतभिन्नता हुन सक्ने बताए। त्यस्ता विषयलाई सम्बोधन गर्न द्विपक्षीय संयन्त्रहरू रहेकाले त्यसैमार्फत छलफल गर्न सकिने उनको भनाइ थियो।
‘भारत र नेपालबीचको सम्बन्ध धेरै राम्रो छ। कतिपय विषयमा सहमति नभएको हुन सक्छ। तर, त्यस प्रकारका मुद्दाका लागि द्विपक्षीय संयन्त्र छ। त्यसैमार्फत कुराकानी गर्न सक्छौँ,’ उनले भने।
नेपाल–ब्रिटिस भारत युद्ध अन्त्य गर्ने उद्देश्यले सन् १८१६ मा सुगौली सन्धि भएको थियो। उक्त सन्धिले नेपालको पश्चिम तथा दक्षिणतर्फको सीमासम्बन्धी व्यवस्था गरेको थियो।
सुगौली सन्धिलगायत ऐतिहासिक दस्ताबेज तथा प्रमाणका आधारमा नेपालले लिम्पियाधुरासहितको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा २०७७ सालमा जारी गरेको थियो। सन्धिमा काली नदीको पूर्वतर्फको भूभाग नेपालको रहेको उल्लेख भएको नेपालले दाबी गर्दै आएको छ।
यसैबीच भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूतबीच भएको भेटवार्ताबारे पनि धारणा राखेका छन्।
द्विपक्षीय विषयमा छलफल भएको उल्लेख गर्दै उनले भारतीय प्रधानमन्त्रीबाट प्रधानमन्त्री शाहलाई नेपालमा नयाँ सरकार गठन भएलगत्तै निमन्त्रणा पठाइसकिएको जानकारी दिए।
‘द्विपक्षीय मुद्दामा प्रकाश पार्ने गरी कुराकानी भएको हो। हामीले निमन्त्रणा दिइसकेका छौँ,’ उनले भने, ‘नेपालका प्रधानमन्त्रीले पदभार ग्रहण गरेकै बेला हाम्रा प्रधानमन्त्रीले निमन्त्रणा पठाइसक्नुभएको हो। यसबारे थप जानकारी आए म बताउनेछु।’
प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया