काठमाडौं । महिलालाई उद्यमशीलता र स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले काठमाडौँमा २३ औँ संस्करणको तीज फेस्टिबल तथा श्रृजनशील उद्यमी मेला–२०८३ हुने भएको छ ।
महिला श्रृजनशील केन्द्रको आयोजना र राइजिङ नेपाल प्रा.लि (इभेन्ट संसार डटकम)को व्यवस्थापनमा भदौ ४ देखि ७ गतेसम्म बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा मेला हुन लागेको हो ।
मेलामा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीको प्रदर्शनी तथा बजारीकरण गरिने केन्द्रकी अध्यक्ष मिलु थापाले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताइन् । मेलामा ८० भन्दा बढी स्टल रहने उनले जानकारी दिइन् ।
महिला उद्यमीले घरमै बनाएका सामग्री, हस्तकलाका सामान, साना तथा घरेलु उद्योगका उत्पादन, सामाजिक संस्थाका सामग्री प्रदर्शन तथा बिक्री, तीज विशेष खानाका परिकार, निशुल्क मेहेन्दी आर्ट, निशुल्क स्वास्थ्य शिविर मेलाका आकर्षण रहेका छन् ।
असहाय, अशक्त, अपांग तथा ग्रामीण एवं पिछडिएका क्षेत्रका महिलालाई पाँचभन्दा बढी स्टल निःशुल्क उपलब्ध गराइने मेला व्यवस्थापक राइजिङ नेपाल प्रा.लि प्रमुख पशुपति केसीले बताए ।
मेलाको उद्घाटन काठमाडौं महानगरपालिकाकी कार्यबहाक प्रमुख सुनीता डंगोलले गर्ने आयोजकले जनाएको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार













प्रतिक्रिया