चितवन । विद्यार्थी, युवा–युवती वा अन्य उमेर समूहका मानिस एकजुट भएर वनभोज जाने प्रचलन त छँदैछ । तर, जनावरले वनभोज गरेको सुन्दा भने केही आश्चर्य लाग्न सक्छ। चितवनको पर्यटकीय क्षेत्र सौराहामा भने हात्तीलाई वनभोज गराइएको छ । १५ औँ विश्व हात्ती दिवसको अवसरमा बुधबार वनभोज गराइएको हो ।

हात्तीको संरक्षण, उचित व्यवस्थापन र मानव–हात्ती सहअस्तित्वको सन्देश दिने उद्देश्यले युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा विशेष कार्यक्रम आयोजना गरेको हो ।

बाघमारा, चित्रसेन, जनकौली र कुमरोज मध्यवर्ती सामुदायिक वनको सहकार्यमा आयोजित कार्यक्रममा हात्तीलाई लामबद्ध गराएर उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन फ्रुट, स्याउ, केरा, भुईंकटहर, फर्सीलगायत फलफूल–तरकारी दिइएको थियो । वनभोजमा सरकारी र निजी गरी करिब ६० वटा हात्ती सहभागी थिए ।

सौराहाको पर्यटन इतिहास हात्ती सफारीसँग जोडिन्छ । यही हात्ती सफारीले चितवनमा पर्यटनको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । हाल चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत ५८ वटा हात्ती छन् । यीमध्ये सौराहामा मात्रै ४५ वटा हात्ती रहेको तथ्यांक छ । नेपालभर सरकारी तथा निजी गरी करिब १ सय ८५ वटा हात्ती छन् ।

हात्ती पर्यटनको आकर्षण मात्र नभई वन संरक्षण, गस्ती, विपद् व्यवस्थापन र चोरी–तस्करी नियन्त्रणमा समेत प्रयोग हुँदै आएका छन्। तर निजी हात्तीका लागि निकुञ्जभित्रको घाँस उपयोग गर्न नपाउने अवस्थाले आहार व्यवस्थापनमा समस्या भएको व्यवसायीहरूको गुनासो छ ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले निजी हात्तीलाई निकुञ्जबाट घाँस उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरे। साथै उमेर पुगेका हात्तीको दीर्घकालीन व्यवस्थापनका लागि ‘एलिफेन्ट सेन्चुरी’ निर्माण आवश्यक रहेको उनले बताए ।

सरकारले हात्तीको किनबेच तथा ओसारपसारमा प्रतिबन्ध लगाएपछि बूढा तथा काम गर्न नसक्ने हात्तीको व्यवस्थापन थप चुनौतीपूर्ण बनेको व्यवसायीहरूको भनाइ छ । सेन्चुरी निर्माणका लागि आवश्यक स्थान उपलब्ध गराउन सरकारसँग माग गरिएको खतिवडाले बताए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले हात्तीबिनाको चितवन निकुञ्ज संरक्षण कल्पना गर्न नसकिने बताए । उनकाअनुसार अहिलेको मुख्य चुनौती हात्तीको संख्या बढाउनु मात्र नभई बासस्थानको क्षमताअनुसार दीगो संरक्षण र मानव–हात्ती सहअस्तित्व कायम गर्नु हो ।

तस्बिर : राजेन्द्र आचार्य/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com