काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६ महिनापछि बिहीबार स्वदेश फर्किँदै छन्। उनको स्वागतका लागि कांग्रेसको संस्थापन इतर समूहले काठमाडौंमा तीनवटा स्थानमा कार्यकर्ता भेला गर्ने तयारी गरेको छ।

इतर समूहका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटअगाडिको खाली स्थान, नमस्ते गेटअगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पतालअगाडिको क्षेत्रलाई कार्यकर्ता भेला हुने स्थान तोकिएको छ।

जेनजी प्रदर्शनका क्रममा बूढानीलकण्ठस्थित आफ्नै निवासमा भएको आक्रमणमा परी गम्भीर घाइते भएका देउवा स्वास्थ्य उपचारका लागि गत १३ फागुनमा सिंगापुर गएका थिए। उपचारपछि उनी बिहीबार थाई एयरवेजको उडानमार्फत मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको कांग्रेस नेता तथा इतर समूहको प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिए।

कांग्रेसभित्र पार्टीको आधिकारिकतासम्बन्धी विवाद पुनः सर्वोच्च अदालत पुगेका बेला देउवा स्वदेश फर्किन लागेका हुन्।

देउवाको स्वागतका लागि राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा कांग्रेसका शीर्ष नेताहरू विमानस्थल पुग्ने तयारी छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू पनि स्वागतमा सहभागी हुने विश्वकर्माले बताए।

विमानस्थलमा देउवा ओर्लिएपछि नेता–कार्यकर्ताले सांस्कृतिक बाजागाजासहित झाँकी निकालेर उनलाई स्वागत तथा स्कर्टिङ गर्ने तयारी गरेका छन्। त्यसका लागि काठमाडौं, ललितपुर र भक्तपुरका कार्यकर्तालाई पार्टीको झण्डा र देउवाको तस्बिरसहित उपस्थित हुन निर्देशन दिइएको कांग्रेस नेताहरूले बताएका छन्।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com